Aamsanchar

‘होली वाइन’ काण्डकी प्रमुख कोरियामा पक्राउ

Author Image
मङ्गलवार, असोज ७, २०८२

सोल –  नेपालमा ‘होली वाइन’ काण्डका रुपमा चर्चित प्रकरणकी मुख्य पात्र धर्मप्रचारक संस्था ‘युनिफिकेशन चर्च’की प्रमुख हान हाक–ज पक्राउ परेकी छिन् । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन राष्ट्रपतिकी पत्नीलाई महँगा उपहार र घुस दिएको आरोप उनी पक्राउ परेको रोयर्टसको खबरलाई उद्धृत गर्दै सीएनएनले समाचार छापेको छ ।

८२ वर्षीया हान हाक–जको नेतृत्वमा रहेको सो संस्थामाथि तात्कालिन राष्ट्रपति यून सुक यउलकी पत्नी किम क्योन हीलाई सनेल ब्रान्डका दुईटा महँगा ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ । ती सामानको मूल्य ८ करोड वन (८२ लाख नेपाली रुपैयाँ) रहेको बताइएको छ । चर्चका कोषहरूमा घोटाला गरेको र विदेशमा जुवा खेलेको आरोपका प्रमाण मेटाउन निर्देशन दिएको आरोप पनि हानमाथि लागेको छ ।

चर्चका संस्थापक सन म्यङ मुनकी पत्नी समेत रहेकी हानले चर्चका पूर्व निर्देशक युन योङ–होसँग मिलेर किम क्योनलाई घूस दिएको भनिएको छ । चर्चलाई सरकारले सहयोग गरोस् भनेर हानले प्रथम महिलालाई घूस खुवाएकी समाचारमा भनिएको छ । तर हानले भने घुस दिएको आरोप बारम्बार खण्डन गर्दै आएकी छिन् । सोमबार सोल अदालतमा उपस्थित हुँदा हान कुनै पनि पत्रकारसँग बोलिनन् ।

सो चर्चसँग जोडिएका एकनाथ ढकालको अगुवाइमा नेपालमा चर्चले बारम्बार विवादास्पद कार्यक्रम आयोजना गरेको थियो । यी कार्यक्रम गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायतका नेता प्रधानमन्त्री भएका बेला आयोजना भएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०८० को साउनमा सोल्टी होटलमा भएको कार्यक्रममा होली वाइन खुवाइएको विषय निकै विवादास्पद बनेको थियो ।

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर