Aamsanchar

सरकारले कर उठाउने तर सहयोग नगर्ने प्रवृत्तिबाट पर्यटन क्षेत्र मौलाउन सकेनः शिवाकोटी

Author Image
शनिवार, असोज ११, २०८२

बिर्तामोड । विश्व पर्यटन दिवस २०२५ का अवसरमा झापाको बिर्तामोडमा “वर्तमान पर्यटन क्षेत्रका अवसर र चुनौती” विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

ह्याप्पी ड्रिम्स चेप्टी प्रालिका सञ्चालक दिनेश शिवाकोटीले कार्यक्रममा बोल्दै सरकारले निजी पर्यटकीय स्थलहरूबाट राजस्व असुल्ने तर प्रचार–प्रसार, पूर्वाधार र नीतिगत सहयोग नगर्ने प्रवृत्तिका कारण नेपालको पर्यटन क्षेत्र अपेक्षित रूपमा विकास गर्न नसकेको बताएका छन् ।
उनले भने, “हामी निजी क्षेत्रले वार्षिक लाखौँ पर्यटक भित्र्याउन सफल भएका छौँ । तर राज्यले कर त असुल्छ, प्रचार–प्रसार र सहज आवागमनको व्यवस्था गर्ने कामचाहिँ गर्दैन । यसरी निजी क्षेत्रमा बन्देज लगाउने प्रवृत्तिले पर्यटन सम्भावना मौलाउन सक्दैन।”

शिवाकोटीले हालसम्म चेप्टी पार्क, ह्याप्पी ल्यान्ड सञ्चालनमा ल्याएको र साइन्स पार्क सञ्चालनको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यी निजी स्थलहरू प्रदेशकै सबैभन्दा बढी पर्यटक भित्र्याउने गन्तव्य बनेका छन् । तर राज्यको ध्यान नपुग्दा ठूला सम्भावना सीमित पर्यटकमै सीमित हुने गरेको उनको गुनासो छ ।

कार्यक्रममा पर्यटन कार्यालय काँकरभिटाका प्रमुख छविलाल खतिवडाले हालै सार्वजनिक पर्यटन नीति २०८२ बाट निजी तथा सामुदायिक पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको दाबी गरे । उनका अनुसार काँकरभिटा नाकाबाट तेस्रो मुलुकका पर्यटक दोब्बरले वृद्धि भएका छन् भने भारतीय पर्यटकहरूको संख्यामा पनि वर्षेनी वृद्धि भएको छ । उनले भने ‘अव सरकारको नीति निजी क्षेत्र सँगको सहकार्य रहेको छ । साविक मेची अञ्चलमा रहेका निजी लगानीमा सञ्चालित पर्यटकीय क्षेत्रको प्रचार र आवश्यक सहयोगमा पर्यटन कार्यालय काँकरभिट्टा लागि पर्ने छ ।’

कार्यक्रममा पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डेले निजी, सामुदायिक र सरकारी क्षेत्र मिलेर मात्र पर्यटन प्रवद्र्धन गर्न सकिने उल्लेख गरे ।

ह्याप्पी ड्रिम्स चेप्टी प्रालीको आयोजना तथा पर्यटन पत्रकार मञ्च झापाको संयोजनमा भएको उक्त कार्यक्रममा पर्यटन कार्यालय काँकरभिटाका प्रमुख छविलाला खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पर्यटन कार्यालयका अधिकृत निरज दर्नाल, पर्यटन पत्रकार मञ्चका पदाधिकारी, ह्याप्पी ड्रिम्स प्रालीका कर्मचारी लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पर्यटन पत्रकार मञ्चका उपाध्यक्ष पुष्प बरालले गरेका थिए ।

Views: 151

प्रतिक्रिया (०)