

काठमाडौं – एसिया कप क्रिकेटको फाइनल खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्।

युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार भारत र पाकिस्तानले उपाधिका लागि आज साँझ प्रतिस्पर्धा गर्न लागेका हुन्।

४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक भारत र पाकिस्तानले उपाधिको लागि भेट्दैछन्।


यही संस्करणमा भारत र पाकिस्तानले लिग चरण र शीर्ष चारमा भेट गरिसकेका छन्। दुवै पटक भारतले पाकिस्तानलाई हराएको छ।
तेस्रो पटक भारतविरुद्ध पाकिस्तानले जित निकाल्न सक्ला कि नसक्ला यो भने आजको खेलले देखाउनेछ। समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो। सुपरफोरको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर्यो।
लिग चरण र सुपरफोरको खेल सकिइसक्दा भारत र पाकिस्तानको आइतबार राति हुने खेल उपाधिभन्दा राजनीतिक गतिविधिहरू मैदानमा देखिने सम्भावना छ।
फाइनलसम्म आइपुग्दा धेरै कन्ट्रोभर्सीहरूको सामना गरेको यी दुई टिमले फाइनलमा कस्तो खालको खेल र कस्तो खालको व्यवहारहरू देखाउँछन् भन्ने चासोको विषय रहेको छ।
पाकिस्तानको लागि यो उपाधि निकै खास हुन सक्छ। रेकर्डमा पाकिस्तान भारतसँग निकै पछि छ। हालसम्म १५ वटा टी २० अन्तर्राष्ट्रिय खेलमध्ये १२ वटा खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।
प्रतियोगितामा अन्डर डग रहँदै पाकिस्तानले नाटकीय रुपमा फाइनलमा प्रवेश गर्यो। ब्याटिङ र बलिङ दुवैमा पछिल्लो समय पाकिस्तान चल्न सकेन।
त्यसको ठीक, विपरीत भारतका लागि ब्याटिङ निकै राम्रो भइरहेको छ । अभिषेक शर्माले खेल्ने इनिङ्स भारतको प्रतिद्वन्दीहरूको टाउको दुखाएको विषय बन्ने गर्छ। उनले यो प्रतियोगिता अवधिभर टिमलाई चाहिए जसरी ब्याटिङ गरेका छन्।
युएईको पिचमा स्पिनरको जादु चल्छ। जहाँ कुलदिप यादवले त्यो प्रमाणित पनि गरेका छन्। उनलाई अक्षर पटेल र वरुण चक्रवर्तीको पनि राम्रो सहयोग मिलिरहेको छ। जसप्रीत बुमराह र शिवम दुबे फाइनलको खेलमा फर्किने नफर्किने भन्ने धेरैको चासोको विषय रहेको छ। शुक्रबार सुपरफोर अन्तर्गतको अन्तिम खेलमा यी दुई खेलाडीलाई आराम दिइएको थियो।
सुपरफोरको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

