Aamsanchar

धरान–धनकुटा सडकखण्ड अवरुद्ध, यात्रुहरू बीच बाटोमै अलपत्र

Author Image
आइतवार, असोज १९, २०८२

सुनसरी – अविरल वर्षासँगै गएको पहिरोका कारण धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ। धरान–४ स्थित निशाने र शिखरबास क्षेत्रमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिए।

 

उनका अनुसार पहिरोले सडक पूर्णरूपमा ढाकिदिँदा धनकुटा हुँदै पहाडी जिल्ला जानका लागि छुटेका सवारीसाधन र धरान फर्किरहेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। यात्रुहरूलाई सुरक्षित स्थानमा राखिएको र वर्षा रोकिएलगत्तै बाटो खुलाउने प्रयास भइरहेको डिएसपी राईले बताए ।

 

धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले पहिरो पन्छाउनका लागि जेसीभी परिचालन गरिएको बताए। “माटो अत्यधिक चिप्लो भएकाले काममा केही कठिनाइ भइरहेको छ, तर सडक छिट्टै सञ्चालन गर्ने प्रयास भइरहेको छ,” उनले भने।

अविरल वर्षाका कारण पछिल्ला केही दिनयता धरान–धनकुटा सडकखण्डमा पटक–पटक साना–ठूला पहिरो खस्ने क्रम बढेको छ । जसका कारण यातायात अवरुद्ध हुने र यात्रुहरू समस्यामा पर्ने घटना दोहोरिन थालेका छन्।

Views: 52

प्रतिक्रिया (०)