

काठमाडौँ – अविरल वर्षाका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर,बूढीखोला–सुनसरी,कन्काई, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका हुन्।

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि छ। उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेश प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा छ।

यसैगरी कोशी मधेश प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालामा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।
बागमती प्रदेश र मधेश प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ । जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ।
ती नदीमा आइतबार बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छभने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ।

