Aamsanchar

चौथो ‘बिर्तामोड रन’ आगामी कात्तिक १ गते, जम्मा पुरस्कार राशी १ लाख

Author Image
सोमवार, असोज २७, २०८२

बिर्तामोड । अनारमनी सोसियल युथ क्लब, बिर्तामोड झापाको आयोजनामा हुने चौथो ‘बिर्तामोड रन’ का लागि तयारी पूरा भएको छ। सिलिकन एजुकेशन नेटवर्क मुख्य प्रायोजक रहेको यस प्रतियोगिता आगामी कात्तिक १ गतेबाट सुरु हुने भएको हो।

क्लबका अध्यक्ष राज मुखियाका अनुसार बिर्तामोड नगरपालिकासहित मेची आँखा अस्पताल र विभिन्न सामाजिक संस्थाको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
“स्वास्थ्यका लागि खेलकुद, लैङ्गिक समानता र लागूऔषधमुक्त बिर्तामोडका लागि हामी एकजुट” भन्ने मूल नारासहित हुने दौड सैनिक बजारबाट प्रारम्भ भई ठूटेबर, बिराट पोखरी हुँदै बिर्तामोड नगरपालिकामा सम्पन्न हुनेछ, कार्यक्रम संयोजक संजय पौड्यालले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने सबैका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्समार्फत अधिकतम १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा व्यवस्था गरिएको छ। प्रतियोगिताका विजेता महिला तथा पुरुष दुवैलाई जनही २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, पहिलो १०० जना दर्ता हुने सहभागीलाई निःशुल्क जर्सी दिइने र सबैलाई सहभागिता प्रमाणपत्र प्रदान गरिने पौड्यालले बताए।

क्लबका सचिव रूपेश तिम्सिनाका अनुसार हालसम्म अनलाइन माध्यमबाट १ सयभन्दा बढीले दर्ता गरिसकेका छन्। दर्ता प्रक्रिया आगामी बिहीबारसम्म खुला रहने पनि उनले जानकारी दिए।

यस अवसरमा बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङले ‘बिर्तामोड रन’ मार्फत समुदायमा खेलकुद र स्वास्थ्यप्रति जागरण फैलिने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिएका छन्।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर