Aamsanchar

राजमार्ग अवरुद्ध हुँदा इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद

Author Image
शुक्रवार, कार्तिक १४, २०८२

झापा- बिहीबारदेखिको वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् ।

मेची राजमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ ।

मेची कोरिडोर (केचना–कञ्चनजंघा सडक)को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द छ । इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर