

काठमाडौं – नेपाल पर्यटन बोर्डको नियमित दृश्य संवाद अभियान ‘फोटो नेपाल’ अन्तर्गत यसपटक एक विशेष अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी आयोजना हुने भएको छ। बोर्डका अनुसार ‘ए टेल अफ टु ल्यान्ड्स: नेपाल मिट्स सिसिली’ शीर्षकमा रहेको यो प्रदर्शनी कात्तिक १७ देखि १९ गतेसम्म बोर्ड परिसरमा आयोजना गरिनेछ। प्रदर्शनीमा इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेछाराले खिचेका २५ ओटा तस्वीर प्रदर्शनमा राखिने छन्, जसले नेपाल र इटालीका सांस्कृतिक र भौगोलिक विविधतालाई चित्रण गर्नेछन्।

निःशुल्क प्रवेशका साथ हुने यो प्रदर्शनीमार्फत दुई देशबीचका भावना, संस्कृति र प्रकृतिको सामीप्य दर्शाउने प्रयास गरिएको बोर्डले जनाएको छ। ‘फोटो नेपाल’ अभियान सन् २०१६ को फेब्रुअरी महिनामा प्रख्यात स्विस भूवैज्ञानिक टोनी हेगनको फोटो प्रदर्शनीबाट सुरु गरिएको थियो। यस अभियानको उद्देश्य नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधता विश्वसामु प्रस्तुत गर्नु रहेको छ।

हालसम्म यो डिजिटल फोटो पोर्टलमा ११ हजारभन्दा बढी सदस्य जोडिइसकेका छन् भने करिब २५ हजार तस्वीर अपलोड भइसकेका छन्।


बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको उत्सव र संस्कृतिले विश्वका समाजहरूलाई भावनात्मक रूपमा जोड्ने क्षमता राख्ने बताएका छन्।

