Aamsanchar

सङ्गीनी सिकाउँदै आमाहरू

Author Image
मङ्गलवार, कार्तिक २५, २०८२

उर्लाबारी- मोरङको पथरीशनिश्चरे–३ स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गीनी समूहले हराउँदैगएको सांस्कृतिक धरोहर सङ्गीनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ ।

आधुनिक युगका डिजिटल मनोरञ्जनका साधनहरूमा टेलिभिजन, युट्युब, अनलाइन खेल स्मार्टफोनको काँचको पर्दामा आए पनि यस समूहका आमाहरूले नयाँ पुस्ताका किशोरीलाई आफ्नै संस्कृतिसँग जोड्ने काम गरिरहनु भएको छ ।

मनोरञ्जन र सञ्चारका साधन नहुँदा, विवाह, ब्रतबन्ध र धार्मिक मेलाहरूमा गाउँघरमा रातभर बालन र सङ्गीनी खेल्दै रमाउने चलन थियो । रात काट्न पुरुषले बालन र महिलाले सङ्गीनी नाचेर आफ्नो संस्कृति जोगाउने काम गर्थे ।

अहिले ती परम्पराहरू हराउँदै गएका छन् । यस्तो अवस्थामा, पथरीशनिश्चरेका ४१ जना आमाहरूको यो समूहले पुरानो परम्परालाई नयाँ पुस्तासँग पुनः जोड्न मिहिनेत गरिरहनु भएको छ ।

किशोरीहरू हरेक साँझ अध्ययनको काम सकेर स्थानीय मन्दिर र सामुदायिक भवनमा गीत र तालमा अभ्यास् गर्छन् । कक्षा ७ मा अध्ययनरत षष्टिका खतिवडाले भन्नुभयो, “सबै जातजातिका आफ्ना सांस्कृतिक परम्परा हुन्छन् । हाम्रा आमाहरूले परम्परादेखि नाच्दै, गाउँदैआएको सङ्गीनी हो भन्ने बुझ्न थालेपछि आमाहरूसँगै नाच्न, गाउन थालेकी हुँ ।”

षष्टिकासँगै कुश्मा भट्टराई, प्रकृति खतिवडा, अमिषा खतिवडा, अपेक्षा खतिवडा, दिपिका भट्टराई, सम्पदा घिमिरे, आकृति पोखरेल र मेलिना पोखरेलले पनि सङ्गीनी नाचको अभ्यासका लागि समय निकाल्नु हुन्छ ।

किशोरीहरू मेलापातमा गाइने बिरह गीतदेखि लिएर महिला सशक्तीकरणका आधुनिक गीतहरूसम्म गाउँदै नाच्ने गर्नुहुन्छ । अपेक्षा घिमिरेले भन्नुभयो, “सुरुका दिनमा अलि डर लाग्थ्यो, तर अहिले आत्मविश्वास बढेको छ । जुनसुकै अवसरमा गाउन र नाच्न सक्ने भएको छु ।”

विद्यालयका शिक्षकहरूले पनि उहाँहरूको मिहिनेत र आत्मविश्वासको प्रशंसा गर्न थाल्नुभएको छ । आमाहरूको प्रेरणा र शिक्षकहरूको हौसलाले उहाँहरू आफ्नै समूह बनाएर नाच्न गाउन सक्ने हुनुभएको छ । दिपिका भट्टराईले बताउनुभयो, ‘ स्थानीय सरकारले अब अरू नाचलाईजस्तै विभिन्न समारोहको उद्घाटन र समापनका अवसरमा प्रदर्शनीको अवसर दिनुपर्छ ।’

महिला जागरुक हरिकीर्तन तथा सङ्गीनी समूहकी अध्यक्ष ७० वर्षीया मनमाया पोखरेलले सङ्गीनी नाच लोप नहोस् भन्ने उद्देश्यले पछिल्लो पुस्तालाई सांस्कृतिक सीप हस्तान्तरण गरेको बताउनुभयो ।

हामी ४१ जना आमाहरूको सङ्गीनी समूह छ । समूह भित्रका आमाहरूका छोरी नातिनीलाई सहभागी गराएर सीप सिकाएका छौं । उहाँले थप्नुभयो, ‘अरूका छोरीले सिकुन् नसिकुन्, हामीले आफ्नै छोरी, नातिनीहरूलाई यो परम्परा हस्तान्तरण गरिरहेका छौं । यो हाम्रो पुर्ख्यौली पहिचान हो, जसलाई जीवित राख्नु हाम्रो जिम्मेवारी हो ।’

Views: 139

प्रतिक्रिया (०)