

काठमाडौं – अनन्त तामाङले इन्जुरी समयमा गरेको गोलको सहयोगमा नेपालले बिहीबार भएको अन्तर्राष्ट्रिय मैत्री फुटबल खेलमा घरेलु टिम बङ्गलादेशलाई २–२ ले बराबरीमा रोकेको छ।

बङ्गलादेशको ढाकास्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपालका लागि रोहित चन्दले पनि गोल गरे। बङ्गलादेशको दुवै गोल स्टार खेलाडी हम्जा चौधरीको नाममा रह्यो। खेलको २९ औँ मिनेटमा उपकप्तान रोहितको गोलबाट नेपालले अग्रता बनाएको थियो। सुमित श्रेष्ठले डिबक्सभित्रबाट ‘कट ब्याक’ गरेको बललाई रोहित पेनाल्टी बक्सबाहिरबाट सशक्त प्रहारमार्फत गोलपोस्टमा छिराएर बङ्गलादेशलाई स्तब्ध परे। रोहितको यो दोस्रो अन्तर्राष्ट्रिय गोल भएको छ।

यद्यपि बङ्गलादेशले दोस्रो हाफको सुरुवातमै लगातार दुई गोल गरेर सानदार पुनरागमन ग¥यो। उत्तरार्धको पहिलो मिनेटमै हम्जाले ‘ओभरहेड किक’ मार्फत दर्शनीय गोल गरेपछि खेल १–१ को स्थितिमा आएको थियो।
कप्तान जमाल भुयानको पासमा हम्जाले दर्शनीय गोल गरे। तीन मिनेटपछि नै हम्जाको पेनाल्टी गोलबाट बङ्गलादेशले पहिलो पटक अग्रता बनायो । नेपालका डिफेन्डर सुमन श्रेष्ठले डिबक्समा रकिब हुसेनलाई लडाएको भन्दै श्रीलङ्काका रेफ्रीले पेनाल्टीको सङ्केत गरेका थिए।
हेम्जाले सो पेनाल्टीको सदुपयोग गरे। सो अग्रतापछि बङ्गलादेश जिततर्फ अग्रसर थियो तर अनन्तले कर्नरमा प्राप्त बललाई ‘ब्याकहिल फ्लिक’ मार्फत सम्झनलायक गोल गरेर घरेलु टिम र दर्शकलाई चुप पारेका थिए। सो गोलसँगै नेपालविरुद्ध बङ्गलादेशको जितविहीन यात्रा लम्बिएको छ।
सन् २०२० नोभेम्बर १३ देखि बङ्गलादेशले नेपाललाई हराउन सकेको छैन। गत भदौमा यी दुई टिमबिच दशरथ रङ्गशालामा भएको मैत्री खेल गोलरहित बराबरीमा सकिएको थियो। जेनजी आन्दोलनका कारण नेपाल र बङ्गलादेशबिचको दोस्रो मैत्री खेल भने रद्द भएको थियो।
नेपाल र बङ्गलादेशले एएफसी एसियन कप छनोट अन्तर्गत मैत्री खेल खेलेका हुन्। एएफसी एसियन कप छनोट खेल्न नेपाल अब बङ्गलादेशबाट मलेसिया प्रस्थान गर्ने छ। नेपालले नोभेम्बर १८ मा मलेसियासँग उसको मैदानमा एएफसी एसियन कप छनोटको खेल्ने छ। नेपाल एसियन कपमा सुरुका चार खेल जितेर छनोट हुने होडबाट बिदा भइसकेको छ।

