Aamsanchar

पाथीभरामा भक्तजनले अर्पण गरेका सयौं वर्ष पुराना घन्टीहरु सुरक्षित

Author Image
आइतवार, मंसिर १, २०८२

ताप्लेजुङ-  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सयौं वर्ष पुरानो घन्टीहरु सुरक्षित रहेका छन् । पाथीभरा दर्शन गर्ने भक्तजनले अर्पण (चढाएका)गरेका घन्टी सुरक्षित रहेका हुन्।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरामा ११० वर्ष पहिलेका घन्टीहरु रहेका छन् । विभिन्न धातुबाट निर्मित भक्तजनले चढाएका घन्टीहरु सुरक्षित रहेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

हाङ्बाङका अनुसार भक्तजनले आफ्नो नाम र पाथीभरामा चढाएको मिति उल्लेख भएका पुराना घन्टीहरु सुरक्षित रहेका छन् । अहिले पनि दर्शनमा आउने भक्तजनले घन्टी र त्रिसूलहरु पाथीभरामा चढाउँदै आएका उहाँले बताउनुभयो । उहाँका अनुसार साना–साना र धेरै वजन भएका विभिन्न आकारका घन्टीहरु भक्तजनले चढाउने गरेका छन् ।

यता भक्तजनले असङ्ख्यौं घन्टी तथा त्रिसूल चढाउने गरेकाले व्यवस्थापन गर्नलाई हम्मे भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभराधाम परिसरमा राख्ने प्रयाप्त ठाउँ नहुँदा समितिले अन्यत्रै घन्टी तथा त्रिसूल सुरक्षितरुपमा भण्डारण गर्दै आएको छ । भण्डारण गर्ने ठाउँको समेत अभाव भएपछि पछिल्लो समय पाथीभरा पदमार्गमा निर्माण गरिएको रेलिङ र प्रवेशद्वार ९गेट० निर्माण गरी कतिपय घन्टीहरु झुण्ड्याएर पनि व्यवस्थापन गरिएको समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो ।

अध्यक्ष थेबेका अनुसार रेलिङ र प्रवेशद्वारमा झुण्ड्याउनुका साथै पाथीभरा परिसरमा घन्टीहरु जोडेर ठुलो आकारको घन्टीको प्रतिमासमेत निर्माण गरिएको छ । भक्तजनबाट घन्टीहरु पाथीभरामा घन्टी अर्पण गर्ने क्रम निरन्तर रहेकाले समितिले व्यवस्थापन गर्ने कार्य पनि निरन्तर गरिरहेको समिति अध्यक्ष थेबेले बताउनुभयो ।

समितिले भक्तजनले अर्पण गरेका घन्टीसँगै त्रिसूल लगायतका सामग्री व्यवस्थापनको कार्य पनि गर्दै आएको जनाएको छ । केही त्रिसूलहरु पाथीभरा परिसरभित्र एकैठाउँमा सङ्कलन गरी ‘त्रिसूल पार्क’ को रुपमा व्यवस्थापन गरिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार त्रिसूल पार्क, घन्टीहरु जोडेर निर्माण गरिएको ठूलो घन्टीको प्रतिमा र पद मार्गका रेलिङमा झुण्ड्याइएका घन्टीका कारण भक्तजन तथा पर्यटकलाई पाथीभराप्रति थप आकर्षितसमेत गराएको छ । धार्मिकस्थलसँगै पाथीभरा पर्यटकीय गन्तव्यका रुपमा पनि विकास हुँदै गएको उहाँले बताउनुभयो ।

 

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर