

काठमाडौँ – १४ औँ राष्ट्रिय कर दिवस। यो अवसरमा सोमबार उत्कृष्ट करदातालाई सम्मान गर्नेलगायत कार्यक्रम रहेको आन्तरिक राजस्व विभागले जनाएको छ।

विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान गर्न लागिएको हो। उत्कृष्ट करदाता सम्मानका लागि ३७ ठूला औद्योगिक प्रतिष्ठन सिफारिसमा परेका छन्। सिफारिसअनुसार सर्वाधिक आयकर तिर्ने प्रतिष्ठानहरुमा नेपाल दूरसञ्चार प्राधिकरण, सूर्य नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल लाइफ इन्सुरेन्सलगायत छन्।

आधुनिक एवं वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानविन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउने गरिन्छ। नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी २०५८ वैशाख २ गते कर विभागका रूपमा स्थापना गरिएको थियो।

