

काठमाडौं – इटालीविरुद्ध ४–१ को पुनरागमन जित निकाल्दै नर्वे २८ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ।

नर्वेले पछिल्लो पटक सन् १९९८ को फिफा विश्वकप खेलेको थियो। टोली सग्रगमा चौथो पटक विश्वकपमा पुगेको हो। सान सिएरोमा पाहुना टोली नर्वेलाई जित दिलाउन एर्लिङ हालान्डले दुई तथा एन्टोनियो नुसा र जोर्गेन लार्सनले समान एक गोल गरे। इटालीका लागि फ्रान्सिस्को पियो एस्पोसिटोले गोल गरे।

खेलको ११औं मिनेटमा एस्पोसिटोको गोलमार्फत इटालीले अग्रता लिएको थियो। तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन। नुसाले ६३औं मिनेटमा नर्वेलाई बराबरीमा ल्याए। हालान्डले ७८ र ७९औं मिनेटमा गोल गर्दा नर्वेको अग्रता ३–१ मा पुग्यो। इन्जुरी समयमा लार्सनले टोलीका लागि चौथो गोल गरे ।
नर्वे आगामी विश्वकपमा छनोट हुने पाँचौं युरोपियन तथा समग्रमा ३२औं राष्ट्र हो। ४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ।

