सुर्तीजन्य पदार्थ एक प्रकारको निकोटिन प्रजातिको वनस्पति हो सुर्तीको पातलाई सुकाएर तयार गरिचुरोट¸तमाखू¸हुक्का¸चिलिममा हालेर यसको धुवाँबाट नशा लिने प्रचलन विश्वभर चलेको छ। विश्वका कयौं मुलुकमा सुर्तीलाई अन्य विभिन्न पदार्थ मिसाएर सीधा मुखमा राखेर चुसी नशा लिने पनि प्रचलन छ । सुर्ती एक मन्दविष हो जसको सेवन ले विस्तारै मानिसको ज्यान समेत लिन्छ। सरकारले सुर्तीजन्य उत्पादनबाट उल्लेख्य राजश्व प्राप्त गर्दछ यद्यपि सुर्ती देखि उत्पन्न रोगहरूको उपचारमा जति खर्च गरिन्छ, राजस्व त्यो भन्दा धेरै कम हुन्छ। सुर्तीको सेवनले मानव जीवन शक्तिमा पनि ह्रास हुन्छ। सुर्तीले मुखको क्यान्सर लगायतका भयंकर रोगहरू निम्त्याउँछ यद्यपि मानिसहरू यसको प्रयोग गरिरहन्छन् ।
विश्वमा प्रत्येक वर्ष ८० लाखभन्दा बढी मानिसको सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण ज्यान जाने गर्दछ, जसमा १३ लाखभन्दा बढी व्यक्तिको चुरोट सेवन नै नगरी अरुले सेवन गरेका कारण धुम्रपान गर्ने व्यक्तिको सम्पर्कमा रहदाँ त्यस धुवाको असरले ज्यान गुमाउनु परेको छ ।
विश्व स्वास्थ्य संगठनको सन् १९८७ को ४० औं विश्व शिखर सम्मेलन, जेनेभामा प्रस्तुत ‘विश्व धुम्रपानरहित दिवस’ अर्थात् वल्र्ड नो टोबाको डे मनाउने प्रस्ताव पास भएको थियो । यसमा नेपाल ले पनि भाग लिएको थियो र नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०६८ , नियमावली २०७१ कार्यान्वयनमा ल्याएको छ । तथापी सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तु उत्पादन गर्ने उद्योगहरूले अपनाउने भ्रामक तरिकाहरूलाई प्रतिबन्द लगाउन सकिरहेको अवस्था छैन । यस्ता उद्योगहरूले स्वादिलो फ्लेवर, आकर्षक प्याकेजिङ तथा सामाजिक सञ्जालजस्ता डिजिटल प्लेटफर्मको प्रयोग गरेर युवाहरूलाई लोभ्याउने कार्य गरिरहेका छन्, जसले गर्दा उनीहरू सुर्तीजन्य पदार्थतर्फ आकर्षित भइरहेका छन् । उद्योगहरूको चलखेललाई पर्दाफास गर्दै युवाहरूलाई धुम्रपान तथा निकोटिनजन्य पदार्थको कुलतबाट जोगाउनुपर्ने आवश्यतामा सरकार र सरोकारवाला चुकेको देखिन्छ ।
सिगरेट, बिडी, खैनी, गुटखा, पान पराग, सुपारी, हुक्का, ई–सिगरेट जस्ता सम्पूर्ण पदार्थहरू सुर्तीजन्य पदार्थको श्रेणीमा पर्छन् । यी पदार्थहरूमा सामान्यतया तम्बाखु वा निकोटिनको प्रयोग हुने गर्दछ । धुम्रपानका लागि सिगरेट, बिडी, सिगार, हुक्का आदि प्रयोग गरिन्छ भने चपाउनेमा गुटखा, खैनी, पान मसला, सुपारी मिसाइएको तम्बाखु पर्दछ । अन्य प्रकारमा ई–सिगरेट, भेप, स्निफ, निकोटिन गम आदिको प्रयोग हुने गर्दछ । विश्वभर गरिएको सर्वेक्षणमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूमध्ये २० प्रतिशतले सिगरेट प्रयोग गर्ने, ४० प्रतिशतले बिडी र ४० प्रतिशतले गुटखा, पान मसला, खैनीजस्ता अन्य सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ ।

सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि एकदमै मन्द विषजस्तै हुन् । शुरूमा यसले सेवन कर्तालाई अस्थायी राहत वा लतको रूपमा रमाइलो अनुभव गराएजस्तो लाग्न सक्छ, तर दीर्घकालीन रूपमा हेर्दा यसले शारीरिक, मानसिक, सामाजिक र आर्थिक पक्षमा गम्भीर असर पार्दछ । नेपाली समाजमा किशोर किशोरी देखि बृद्ध समका लागि चुरोट, खैनी, हुक्कालगायतका सुर्तीजन्य पदार्थहरूले गहिरो रूपमा जरागाढी सकेको छ । हिजो हजुर बुबा आमा वा समाजका अन्य नागरिकले यस्ता पदार्थ लिने गर्द्थे सेवन गर्न हुन्छ भन्ने परम्परागत अभ्यास जस्तै भएको छ तर यसले पार्ने असर लाई प्रश्न नगरी निरन्तरता दिइँदै आएको पाइन्छ ।
सुर्तीजन्य पदार्थले पार्ने भित्री असर भने प्राणघातक हुन्छ । स्वास्थ्यका हिसाबले हेर्दा सुर्तीजन्य पदार्थको सेवनले शरीरमा एकपछि अर्को रोग निम्त्याउने गर्छ । मुख तथा फोक्सोको क्यान्सर, मुटुको समस्याहरू, उच्च रक्तचाप, श्वासप्रश्वाससम्बन्धी समस्याहरू, मधुमेहजस्ता रोगहरू धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले गर्दा लाग्ने रोगहरूमध्ये पर्छन् । धुम्रपानले हाम्रो फोक्सो कमजोर बनाउने तथा रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर बनाउने गर्छ भन्ने कुराको हेक्का नै छैन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षण अनुसार हरेक वर्ष नेपालमा झन्डै २७,००० भन्दा बढी मानिसको सुर्तीजन्य रोगका कारण अकालमै मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगकर्तालाई मात्र नभई यसले गर्दा घर परिवार, साथीभाइ, साना बालबालिकादेखि बृद्धबृद्धासम्मलाई समेत यसले असर पार्ने गर्छ । धुम्रपान नगर्ने तर धुम्रपान गर्ने व्यक्तिको नजिकमा रही त्यसको धुवाँ लिन बाध्य हुनेहरूलाई पनि क्यान्सर, दम, ह्दयघातजस्ता गम्भीर समस्याहरू देखिन सक्छन् । त्यति मात्र होइन सुर्तीजन्य पदार्थ स्वस्थ्य मानवको लागि यति कठोर छ , हामी आफै सोचौं त– दिनहुँ प्रयोग गरिने एउटा यस्तो वस्तु जसले आफ्नै आधा प्रयोगकर्ताको ज्यान लिन्छ । धुम्रपान त्यही वस्तु हो । यो कुनै काल्पनिक कुरा होइन, विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको एक कठोर सत्य हो । कल्पना गरौ बजारबाट किनेर ल्याइन्छ र सेवन स्वयम् आफै सेवनगरिन्छ , त्यसकै कारण आफ्नो अल्प आयुमै मृत्यु हुने सम्भावना दुई गुणा बढी छ । यस्तो भयावह छ यो कुरा ? के ख्याल – ख्याल हो र साँच्चै अब यसको विरुद्धमा न उत्रीने त ? हामी सुर्र्तीजन्य पदार्थको लतले यतिसम्म लापरवाह भयौं कि जुन कुराले हामीलाई बिस्तारै मारिरहेको छ, र जुन कुराले हाम्रो परिवार, समाज तहसनहस हुन हुदैछ , त्यही कुरालाई हामी पैसा तिरेर किनेका छौं र सेवन गरिरहेकै छौं । विश्व स्वास्थ्य संगठनले जारी गरेको यो तथ्य केवल तथ्य मात्र होइन, यो एउटा चेतावनी पनि हो ।

सुर्तीजन्य पदार्थले निम्त्याउने आर्थिक पक्ष पनि गम्भीर छ । हाम्रो जीवन नै तहसनहस पार्ने यो मन्द विषले विशेषतः आर्थिक रूपमै विपन्न वर्गका परिवारलाई अझ अप्ठ्यारोमा पारेको छ । एक सर्वेक्षणका अनुसार, एउटा परिवारले आफ्नो कुल मासिक आम्दानीको करिब १० प्रतिशतसम्म सुर्तीजन्य पदार्थमा खर्च गर्छ । यसको सेवनले स्वास्थ्य त बिग्रन्छ नै, सँगै धनको पनि नाश गराइरहेको छ । रोग लागेमा उपचार खर्च जुटाउन ऋण लिनुपर्ने, गहना तथा जमिन बेच्नुपर्ने जस्ता कहालीलाग्दा अवस्था पनि समाजमा सिर्जना भएको छ । अचम्मको कुरा त के छ भने, समाजमा दैनिक खाद्यान्न जुटाउन मुस्किल हुने परिवारको समेत नियमित खर्च सुर्तीजन्य पदार्थमा हुने गरेको छ ।
व्यक्तिगत हिसाबमा मात्र नभई नेपालमा हरेक वर्ढ सुर्तिजन्य पदार्थको प्रयोगले निम्तिने विभिन्न रोगहरूको उपचारमा लाग्ने खर्च , अकाल मृत्यु , अशक्त र रोगिको उत्पादकत्वमा आएको ह्रसमा ४७ अर्ब वरावरको क्षेती हुने गरेको छ ।तथ्याङ्क अनुसार १२ प्रतिशत मानिसहॠ अरुको सेवनको कारण मृत्यु हने गरेको समेत जनाएको छ । सुर्तीजन्य पदार्थको उत्पादन तथा बिक्रीबाट उठ्ने राजस्वको तुलनामा यो खर्च कैयौं गुणा बढिरहेको विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ । सामाजिकरूपमा पनि यसले पार्ने समस्या अझ चिन्ताजनक छ । पारिवारिकरूपमा कलह, साथीभाइबीच मनमुटाव पनि गराएको छ । अहिलेको युवा पुस्ता डिजिटल प्लेटफर्मबाट अत्यधिक प्रभावित भएको पाइन्छ । सामाजिक सञ्जाल, विज्ञापन तथा सिनेमामा अभिनेता तथा अभिनेत्रीहरूले सुर्तीजन्य पदार्थ सेवन गरेको देखिनु पनि युवा पुस्ता त्यसतर्फ आकर्षित हुने एउटा माध्यम भएको छ यस्ता गलत प्रचार विज्ञापनले सुर्तीजन्य पदार्थमा नजानिदो रुपमा प्रत्यक्ष – अप्रत्यक्षरूपमा युवाहरूलाई आकर्षित गर्ने गरेको पाइन्छ ।
सुर्तीजन्य पदार्थले आफू लाई क्षणिक आनन्द दिए जस्तो देखिए तापनि यसको सेवनका कारण क्यान्सर, मुटुरोग र अन्य घातक रोग निम्त्याउँछ । यसको सेवन छोड्दा, एक त स्वस्थ शरीर हुने भयो सँगसँगै परिवार पनि खुशी हुन्छ । सुर्तीजन्य पदार्थमा खर्च हुने पैसाले शिक्षा, स्वास्थ्य तथा भविष्यमा लगानी गरी ठूलो प्रतिफल प्राप्त गर्न सकिनेछ स्वथ्य शरिरनै अमुल्य सम्पती हो ।
* सुर्तीजन्य पदार्थ छोड्नका लागि विभिन्न उपायहरू:-
* धुम्रपान छोड्न कठिन हुन सक्छ तर उच्च आत्मवल र दृढ सङ्कल्प आवश्यक पर्छ । धेरै यस्ता व्यक्तिहरु पनि छन जसले धुम्रपान छोड्न सकेका छन
* सर्व प्रथम आफूले सुर्तीजन्य पदार्थ छोड्नै पर्ने कारण पत्ता लगाउनु होस ।
* शारिरिक ,मानशिक, आर्थिक जोखिम, तपाईंको स्वास्थ्य, पारिवारिक सुख–शान्ति जस्ता विषयहरू हुन सक्छन् यी विषयमा गहिरिएर सोच्नु होस ।
* तपाईं पहिले धुम्रपान छोड्ने योजना बनाउनु होस र छोड्ने दिनको तय गर्नु होस
* तपाईं परिवारका सदस्य हरु लाई सुर्तीजन्य पदार्थ छोड्दै छु भन्ने जानकारी दिनु होस ताकी वहाँ धुम्रपान छोड्न मद्त पुर्याउन सहयोग गर्नु हुन्छ ।
* सुर्तीजन्य पदार्थ आफ्नो कोठामा कार्यालयमा नराख्नु होस ।
* सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिबाट सकेसम्म टाढा बस्नुहोस र आफ्नो मित्रता सुर्तीजन्य पदार्थ सेवन नगर्नेहरूसँग बढाउनु होस ।
* सकारात्मक सोच, व्यायाम, खानपिनमा आदिमा सुधार ल्याउनु होस ।
* तपाईंको सङ्कल्प दृढ हुने हो भने सुर्तीजन्य पदार्थलाई अवश्य जित्न सकिन्छ ।
* आफू लाई विभिन्न कार्यमा ( टि भि, पत्र पत्रीका व्यायम , घरायशी काम , सङ्गीत ) व्यास्त राख्नु होस पानी प्रशस्त पिउनु होस ।
* सुर्तीजन्य पदार्थको तलतल हटाउन साथमा ल्वाङ्ग, मरिच , अदुवा, छुर्पी , चकलेट नरिवल दालचिनी आदि साथमा राख्नु होस र तलतल हुदाँ यी प्रयोग गर्नु होस ।
नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रणसम्बन्धी महासन्धि अनुमोदन गरिसकेको छ । महासन्धिको पक्ष राष्ट्रहरुले कानुन बनाएर यसको नियन्त्रणमा प्रयास गरिरहेका छन् । नेपालले पनि यस्तो प्रयास नगरेको होइन । सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०६८ नियमावली २०७१ जस्ता कानुन छन यी कानुन लाई कार्यन्वयन गर्ने सरोकारवाला निकाय देखि बिक्रीवितरक र सेवन कर्ता सम्म प्रशिक्षण एवं कानुन लाई अक्षरस पालना गराउने हो भने यी समस्या न्युनिकरण हुने छन तर सबै पक्षको मौनता विध्यालयको गेट देखि सरकारी कार्यालय सम्म खुलेआम विक्रीवितरण गरिन्छ सुचना टाँस सम्म कतिपय महत्वपुर्ण स्थानमा छैन । विध्यलाय पोषक लगाएका १८ वर्ष भन्दा कम उमेरका वालवालिका लाई विक्रीवितरण गरिदाँ सम्म स्थानिय तह देखि सरोकारवाला निकाय सम्म बन्द दराजमा कानुनका ठेली थन्काएर मौनता र अनवीज्ञ रहेको देखिन्छ । यद्यपि, कानुन कार्यान्वयनमा अत्यन्तै फितलोपन देखिएको छ । यसको कार्यान्वयनमा व्यवस्थापकीय र नैतिक कमजोरी भने अन्त्यान्तै कमजोर छ । जनसमुदायमा सुर्तीजन्य पदार्थको बारेमा जनचेतना पहिलाको भन्दा अहिले बढेको भए तापनि कानुनीरूपमा र सामाजिकरूपमा कमजोरी भएका कारण कानुन कार्यान्वन हुन नसकेको प्रष्ट छ ।
विद्यालय, सरकारी कार्यालय मठ मन्दिर अस्पताल एवम सार्वजनिक स्थानलाई धुम्रपान निषेधित घोषणा गरिएको भए तापनि कार्यान्वयन पक्ष फितलो हुदाँ कानुन छ र भन्ने अवस्था छ कडा खाले लागू औषधको पहिलो खुड्किलो सुर्तीजन्य पर्दार्थ हो भन्ने जान्दा जान्दै पनि कसैको चासो नहुनु नेपालका लागि दुर्भाग्य नै हो ।
निष्कर्ष :
निष्कर्षमा भन्नुपर्दा– जीवन अमूल्य छ । एकचोटि पाइने जीवनलाई सुर्तीजन्य पदार्थजस्ता मन्दविष घोलेर आफ्नै स्वास्थ्य, आफ्नो परिवार, बालबच्चाको स्वास्थ्यसँगै धनसम्पत्तिको नाश गर्नु भनेको मूर्खता हो । हामीले गर्ने व्यवहार, हाम्रा बालबालिका हरुले त्यही अनुसार अनुसरण गर्दछन् । नेपाल जस्तो मुलुकमा, जहाँ दिनप्रतिदिन बालबालिकाहरू सुर्तीजन्य पदार्थको तथा कडा खाले लागू पदार्थको चंगुलमा फसिरहेका छन्, हामी अभिभाव र नागरिक सचेत बनी बालबालिका हरुलाई यसका बेफाइदा र यसले निम्त्याउने हानिबारे सिकाउन लागौं । सूर्तीजन्य पदार्थमा सरकारी स्तरबाट नियम कानुन बने पनि हामी नागरिक स्तरमा यसको कार्यान्वयन नभएसम्म हामीले सुर्तीजन्य पदार्थ मुक्त समाज कल्पना गर्न सक्दैनौं । त्यसैले सबै पक्षले यो सङ्कल्प गरौं– सुर्तीजन्य पदार्थ होइन धुवाँ रहित स्वस्थ्य शरीर को उज्यालो भविष्य रोजौं । सुर्तीजन्य पदार्थ छोडौं, स्वस्थ्य जीवन रोजौं । कानुनलाई कार्यान्वन ल्याउन चौतर्फी दवाफ शिर्जना गरौ ।

