

सुनसरी – सुनसरीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठूलो मात्रामा गाजा र ब्राउनसुगर बरामद गरेको छ। धरान–२० स्थित बिष्णुपादुकाबाट ५१ केजी गाजासहित दुई जना पक्राउ परेका छन् भने इनरुवामा ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

धरान–२० बिष्णुपदुकामा सोमबार धनकुटाको सागुरीगढीबाट धरानतर्फ गाडीमा गाजा बोकेर आएका दुई व्यक्ति पक्राउ परेका हन्। पक्राउ पर्नेमा सागुरीगढी–९ का चालक खड्ग मुग्राती र सहचालक दुर्गा बिक रहेका छन्। इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबू राईका अनुसार उनीहरू सवार को १ ज २१७८ नम्बरको बोलेरो गाडीबाट ५१ किलो गाजा बरामद गरिएको हो। बरामद सामग्रीसहित दुबैजनालाई धरानमा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए ।

प्रहरीका अनुसार धनकुटामा उत्पादन हुने गाजा वर्षौंदेखि सुनसरी हुँदै भारतीय बजारमा तस्करी हुँदै आएको छ। धनकुटाका विभिन्न नाकाबाट खुलेआम धरान झारिने गाजालाई सुनसरी प्रहरीले पटक–पटक धरान, इटहरी, बराहक्षेत्र र इनरुवाबाट बरामद गर्दै आएको छ । धनकुटा क्षेत्रका केही तस्करहरूले स्थानीय प्रहरी अधिकारीहरूसँग ‘सेटिङ’ मिलाएर गाजा सुरक्षित रूपमा धरान र इटहरीसम्म पुर्याउने गरेको छन् । प्रहरीले विगतमा समेत गाजा तस्करलाई नियन्त्रणमा लिन गोलासम्म चलाउनुपरेको थियो । गाजा तस्करीले सुनसरीको सुरक्षा प्रणालीमा समेत चुनौती थपेको प्रहरीले जनाएको छ ।


यसैबीच, सुनसरीकै इनरुवामा अर्को ठूलो लागू औषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। इनरुवा नगरपालिका–४ पूर्व बस स्ट्यान्डमा चेकजाँचका क्रममा सप्तरीको राजगढ गाउँपालिका–३ का २९ वर्षीय दिलीप कुमार मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका–६ का २३ वर्षीय शिवदत्त मण्डललाई भ्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खडकाले बताए ।
खानतलासीका क्रममा दिलीप मण्डलको साथबाट दुई वटा बट्टाभित्र प्लास्टिकका साना पोकामा प्याक गरिएको अवस्थामा १०२ ग्राम र १०० ग्राम गरी कुल २०२ ग्राम ब्राउनसुगर फेला परेको डिएसपी खड्काले बताए । पक्राउ परेका दुबैजनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सुनसरीमा लागूऔषध नियन्त्रण अभियानलाई थप कडा रूपमा अघि बढाएको र धरान, इनरुवा, इटहरी आसपासका क्षेत्रमा सक्रिय रहेको तस्करी समूहहरूलाई निगरानीमा राखिएको बताउँदै आएको छ । स्थानीय बासिन्दाले पनि सीमा क्षेत्र, राजमार्ग र जंगलमार्ग हुँदै हुने ओसारपसार रोक्न प्रहरीलाई थप सशक्त कार्ययोजना बनाउनु आवश्यक रहेको सुझाव दिएका छन् ।

