Aamsanchar

भारतीय राहदानी बोक्ने नेपाली महिला गिरफ्तार

Author Image
बुधवार, मंसिर ११, २०८२

काठमाडौं – भारतीय राहदानी प्रयोग गरेर ओमान यात्रा गर्ने प्रयास गरेको आरोपमा एक नेपाली महिला मंगलबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा गिरफ्तार भएकी छन् ।

टाइम्सअफ इन्डियाका अनुसार महाराष्ट्र राज्यको सहार प्रहरी कार्यालयका एक अधिकारीले ती महिला गत हप्ता ओमनको राजधानी मस्कट उड्ने क्रममा अध्यागमन काउन्टर पुगेकी थिइन् । उनले आफूलाई काजल बताउँदै आफ्नो जन्मस्थान हिमाञ्चल प्रदेशको नोहरा भएको भारतीय राहदानी पेस गरेकी टाइम्सअफ इन्डियामा उल्लेख छ ।

तर, अध्यागमन अधिकारीहरूलाई उनको अनुहार नेपालीजस्तो देखेर शंका लागेपछि थप जाँच गर्दा उनले आफूलाई नेपाली नागरिक रहेको स्वीकार गरेको बताएको समाचारमा उल्लेख छ । थप जाँच गर्दा उनले आफ्नो वास्तविक नाम काजल लामा रहेको र नेपालको पर्सा जिल्लावासी रहेको बताइएको छ ।

उनले प्रहरीलाई बाबुआमा वर्षौंअघि देखि हिमाञ्चल प्रदेशमा बसोबास गर्दै आएका कारण उनले राज्यको ठेगाना प्रयोग गरेर आधार कार्ड, प्यान कार्ड र बोनाफाइड प्रमाणपत्र प्राप्त गरेको बताएकी छन् ।

नक्कली कागजात प्रयोग गरेर उनले हिमाञ्चलको शिमला राहदानी कार्यालयबाट भारतीय पासपोर्ट जारी गराउन सफल भएको समाचारमा उल्लेख छ ।

अध्यागमन कर्मचारीहरूको रिपोर्टपछि महिलालाई नजरबन्द गरिएको र उनमाथि गलत जानकारी दिने, कागजात जालसाजी गर्ने र गैरकानुनी रूपमा विदेश यात्रा गर्ने प्रयास गरेको आरोपमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर