

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच भोलि आइतबार एकता घोषणा हुने भएको छ। दुई पार्टीबीच मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपा केन्द्रीय समितिको विशेष बैठकले विवेकशील साझासँगको एकता गर्ने निर्णय अनुमोदन गर्दै असल शासन, सुशासन र समुन्नति प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न परिवर्तनकारी तथा सुसंस्कृत राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई थप सुदृढ गर्ने निर्णय पनि गरेको छ।

प्रवक्ता झाले भने, ‘असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यका पृथक् विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई घनिभूत बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको उच्च संवाद समितिलाई केन्द्रीय समितिले दिएको निर्देशन अनुरूप पार्टी सचिवालयले गठन गरेको संयन्त्र सङ्घीय नेतृत्व मञ्च अनुमोदित भएको छ।’

