Aamsanchar

बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको ओलीको आरोप

Author Image
आइतवार, मंसिर १५, २०८२

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुख्याँचालाई सरकारको नेतृत्व गर्न दिएको आरोप लगाएका छन्। उनले संविधान र लोकतन्त्र भएको देशमा निर्वाचित जनप्रतिनिधिले देश चलाउनुपर्नेमा बुख्याँचालाई लगेर सिंहदरबारमा टाँगिएको बताए।

‘ सब्जी बारीमा त ठीकै थियो। तर, निर्वाचित जनप्रतिनिधिहरू लखेटिनुपर्ने अनि बुख्याँचाहरू चाहिँ सिंहदरबारमा?’ उनले प्रश्न गरे, ‘बुख्याँचा कहिल्यै निर्वाचित हुँदैन। सिंहदरबार बुख्याँचा टांगिदिने ठाउँ पनि होइन।’

संसद पुनर्स्थापना हुँदा देश नै बर्बाद हुन्छ भन्नेरूलाई पनि उनले कडा जवाफ दिए। ‘देश अप्ठ्यारो स्थितिमा छ। देशमा लोकतन्त्र फर्काऔँ। असंवैधानिक काम हुन दिनका लागि संसद पुनर्स्थापना गरौं भन्दा बर्बाद हुन्छ रे। लोकतन्त्र भनेको नराम्रो कुरा हो,’ अध्यक्ष ओलीले प्रश्न गरे।

 

उनले राजनीति दलका नेताहरूलाई संकीर्णता त्याग्न र प्रतिस्पर्धाका नाममा विष वमन नगर्न आग्रह गरे। ‘एमालेमाथि रिस उठेको होला। केपी ओलीसँग रिस उठेको होला। अनि त्यो रिसलाई संविधान र देशमाथि थोपार्ने त?,’ उनले प्रश्न गरे, ‘संकीर्ण राजनीति र प्रतिस्पर्धाका नाममा बेतुकका कुरा गर्न छोडौँ।’

त्यस्तै अध्यक्ष ओलीले बौद्धिक वर्गहरूलाई पनि सत्यको पक्षमा वकालत गर्न आग्रह गरे। ‘बौद्धिकताको दुरुपयोग नगर्नुस्। झुटो कुरा कनी कनी गरेर भन्न बल नगर्नुस्। बौद्धिक समुदायले देशको पक्षमा, सत्य लेख्न नछोड्नुस्,’उनले भने।

उनले एमालेको ११औं महाधिवेशन कोशेढुंगा सावित हुने बताए। यस महाधिवेशनले अराजकतालाई अस्वीकार गर्ने र देशमा सुशासन र विकासको वकालत गर्ने उनको भनाइ छ मंसिर २७ गतेबाट सुरू हुने एमाले महाधिवेशनको उद्‍घाटन भक्तपुरको तीनकुनेमा हुने जानकारी दिइएको छ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर