Aamsanchar

देशभरका २२ सडकमा ‘टोल ट्याक्स’ पुनः सक्रिय बनाउन तयारी, दर समायोजनको गृहकार्य सुरु

Author Image
सोमवार, मंसिर १६, २०८२

काठमाडौं। पाँच वर्षदेखि थन्किएको सडक उपभोग दस्तुर (टोल ट्याक्स) प्रणाली फेरि सक्रिय बनाउन सडक बोर्ड अघि बढेको छ। प्रमुख राजमार्गहरूको स्तरोन्नति काम क्रमशः सम्पन्न हुँदै गएपछि देशभरका २२ सडक खण्डमा पुनः टोल गेट सञ्चालन गर्ने तयारी तीव्र भएको बोर्डले जनाएको छ।

बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार भैरहवा–भूमही सडकमा मंसिर १ गतेदेखि पुनः दस्तुर उठाउने काम सुरु भइसकेको छ। ठूलो सवारीका लागि ३० रुपैयाँ र हलुका सवारीका लागि २० रुपैयाँलाई पुरानै दरमा निरन्तरता दिइएको छ।

नारायणगढ–हेटौंडा, मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र वीरगञ्ज–पथलैया सडक खण्डमा पनि छिट्टै टोल गेट स्थापना गर्ने तयारी भइरहेको केसीले जानकारी दिए।

कोभिड–१९ को प्रभावपछि रोकिएको टोल संकलन प्रणालीलाई पुनः कार्यान्वयन गर्ने क्रममा २२ सडक र नागढुङ्गा सुरुङमार्गमा दस्तुर उठाउने योजना अघि बढेको हो। कोभिडअघि १५ सडकमा मात्र दस्तुर लिइन्थ्यो।

यसबीच, २०८१ जेठ १७ गते मन्त्रिपरिषद्को बैठकले ‘सडक उपभोग दस्तुर उठाउने कार्यविधि, २०८१’ स्वीकृत गरिसके पनि त्यतिबेला लागू हुन सकेको थिएन। २०८२ साउन २६ मा भने नागढुंगा सुरुङमार्गका लागि टोल दर औपचारिक रूपमा तोकियो। सुरुङ प्रयोग गर्दा काठमाडौं प्रवेश र बाहिरिने अवस्थामा छुट्टाछुट्टै शुल्क तिर्नुपर्ने व्यवस्था छ।

२२ सडकमध्ये कुन–कुनमा कति दस्तुर लिने भन्नेबारे अन्तिम छलफल भइरहेको बताउँदै केसीले १० वर्ष पुरानो दर समयसापेक्ष नभएकाले ‘एस्केलेसन’ आधारमा करिब ३ प्रतिशत बढाएर क्याबिनेटमा प्रस्ताव लैजाने तयारी भइरहेको बताए।

नेपालमा पहिलोपटक २०६७ असार १४ गते राजपत्रमार्फत भैरहवा–भूमही र वीरगञ्ज–पथलैया सडकमा टोल लागू गरिएको थियो। त्यसपछि विभिन्न चरणमा थप सडक खण्डहरू समावेश हुँदै गए।

हाल भौतिक तथा वित्त मन्त्रालयले प्रस्ताव गरेका ७ नयाँ सडक खण्ड—मुग्लिन–पोखरा, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी, धुलिखेल–तातोपानी र काठमाडौं–तराई द्रुतमार्ग—लाई पनि टोल प्रणालीमा समावेश गर्ने तयारी छ।

बोर्डका अनुसार लागू हुने २२ सडक खण्डमा मोटरसाइकल र स्कुटर बाहेक सबै प्रकारका सवारी साधनलाई दस्तुर तिर्नै पर्ने छ। टोल प्रणाली पुनः सुरु भएपछि राजमार्ग सुधार, मर्मत तथा व्यवस्थापनका कार्य नियमित र व्यवस्थित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर