

रौतहट- प्रहरीले रौतहटमा एक लाख १८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिका-४ लत्मरी टोलमा खोटा नेपाली मुद्रा लिएर हिँडिरहेका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मठिया महुलिया प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मठियाबाट खटिएको संयुक्त गस्ती टोलीले मंगलबार अपराह्न करिब साढे ४ बजे भारततर्फबाट नेपाल प्रवेश गरिरहेको बीआर-०५-एटी-०९८३ नम्बरको मोटरसाइकल चेकजाँचका लागि रोक्न खोज्दा ती युवकहरू खेततर्फ भाग्न खोजेका थिए ।

भाग्ने क्रममा उनीहरूले नेपाली एक हजारका ११८ थान जाली नोट फालेर उम्कन प्रयास गरे पनि प्रहरीले तत्कालै पछ्याउँदै तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थलमै फालिएको खोटा नोट र प्रयोग गरिएको मोटरसाइकल संकलन गरी सुरक्षित राखिएको प्रहरीले जानकारी दिएको छ ।


पक्राउ पर्नेहरूमा देवाही गुनाही नगरपालिका-४ का अन्दाजी २० वर्षीय अजय पटेल, त्यही स्थानका २१ वर्षीय गेनालाल पटेल तथा भारत बिहार, मोतिहारी पूर्वी चम्पारण वडा नं.२ कुडवा चैनपुरका २३ वर्षीय जयप्रकाश कुमार छन्।
उनीहरूलाई प्रारम्भिक बयानका लागि प्रहरी चौकी मठिया महुलियामा राखिएको छ । सीमावर्ती क्षेत्रको फाइदा उठाउँदै खोटा नोट नेपाली बजारमा आपूर्ति गर्ने उद्देश्यले नक्कली नोट भारतबाट ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनास्थलमा फेला परेको तीनवटा मोबाइल फोन र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी प्रदीप विष्णु बस्यालले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

