

काठमाडौं – भारतद्वारा रुसी तेलको आयातमा हालै देखिएको गिरावट लामो समयसम्म नरहने रुसले जनाएको छ । यस सम्बन्धमा मस्कोले नयाँ दिल्लीलाई आपूर्ति बढाउने योजना बनाइरहेको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार भारतीय पत्रकारहरूसँग कुरा गर्दै रूस ऊर्जा क्षेत्रमा भारतको महत्वपूर्ण साझेदार बनिरहने बताए ।

राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिखर वार्ताका लागि भारत आउन लागेको समयमा यो भनाइ आएको हो । पश्चिमी प्रतिबन्धहरूको दबाबका कारण भारतले रुसी कच्चा तेलको खरिद घटाएको छ । अमेरिकाले हालै रूसका ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकओइलमाथि प्रतिबन्ध लगाएपछि भारतीय रिफाइनरहरू मंगलौर रिफाइनरी, हिन्दुस्तान पेट्रोलियम र एचपीसीएल मित्तल एनर्जीले रुसी तेल किन्न बन्द गरेका छन् ।

यसै महिना भारतको रुसी तेल आयात तीन वर्षको सबैभन्दा तल्लोस्तरमा पुग्ने सम्भावना छ । यद्यपि, इन्डियन आयलले गैर–प्रतिबन्धित संस्थाहरूबाट रुसी तेल किन्नका लागि अर्डर दिएको र भारत पेट्रोलियम वार्ताको अन्तिम चरणमा रहेको बताइएको छ ।


रूसी पक्षधर नायरा एनर्जीले पूर्णरूपमा रुसी तेल प्रशोधन गरिरहेको छ, जबकि रिलायन्स इन्डस्ट्रिजले आफूले केवल पूर्वप्रतिबद्धता अनुसार कार्गो मात्र प्रशोधन गर्ने बताएको समाचार संस्था डनले बताएको छ ।

