

हिंसामुक्त र न्यायपूर्ण समाज बनाउने चाहना हरेक व्यक्तिको हुन्छ। तर आज पनि हाम्रो समाजमा लुकेर बसेको एउटा गम्भीर समस्या छ। लैङ्गिक हिंसा , यो हिंसा केवल शरीर माथिको प्रहार होइन यो सोच संस्कृति र व्यवहारमा गरेको असमानताको नतिजा हो ।
कुनै बालिका स्कुलबाट घर फर्कँदै गर्दा असुरक्षित महसुस गर्नु , कुनै महिला बोल्दा व्यवस्था गर्नु , कुनै पुरुषले आँसु झार्दा त्यो पुरुषको स्वभाव होइन भन्ने टिप्पणी सुनिनु यो सबै लैंगिक हिंसाका रुपहरु हुन्।

लैङ्गिक हिंसा अन्त्य गर्नु केवल महिला वा पुरुष कोही एकको जिम्मेवारी होइन , यो हाम्रो सामूहिक कर्तव्य हो। किनकि हिंसाले पीडितलाई मात्र चोट पुर्याउँदैन यसले परिवारलाई समुदायलाई र समग्र समाजलाई प्रभावित गर्छ। हिंसाले समाजलाई कमजोर बनाउँछ। विकासको बाटो रोक्छ र भविष्यका पुस्तालाई उज्यालो दिन असक्षम बनाउँछ। त्यसैले लैङ्गिक हिंसा रोक्नु मात्र आवश्यक होइन अन्त्य गरेर समतामूलक समाज बनाउन आवस्यक छ ।

समातामुलक समाज भन्नाले हरेक व्यक्तिलाई बराबरीको अवसर सम्मान र स्वतन्त्रता दिने समाज हो। समातामूलक समाजमा छोरी छोरा दुबैले सम्मान शिक्षा पाउँछन् हरेक व्यक्तिको मतको कदर गरिन्छ ।
लैङ्गिक हिंसा हाम्रो समाजको लुकेर बसेको त्यो घाउ हो जसले शरीर मात्र होइन मन, आत्मा सम्मान र भविष्य सम्म नै घाइते बनाइरहन्छ। हिंसा बाहिरी दुनियामा मात्र हुँदैन धेरैजसो घटनाहरु घरभित्रकै चार भित्ता भित्र दबिरहेका हुन्छन् । पीडित बोल्न नसक्ने समाजले नसुन्ने र दोष नै पिडितकै हो, जस्तो व्यवहार हुने परम्पराले समस्यालाई अझ गहिरो बनाएको छ। हिंसाका रूपहरू थुप्रै छन् ( शारीरिक ,मानसिक, आर्थिक ,सामाजिक, अपमान, जबरजस्ती र चरित्र हत्या) कतिले यस्ता हिंसालाई बोल्न नसकेर सहेर बसेका हुन्छन् । घरको कुरा घरमै सीमित राख्नुपर्छ भनेर पनि मौन हुन्छन् तर हिंसा कुनै पनि रुपमा स्वीकार्य हुँदैन।
लैङ्गिक हिंसाको अन्त्यको यात्रा कानुन, संस्था, प्रहरी वा अदालतबाट मात्र पूरा हुँदैनन्। यी सबै त बाह्य औजार हुन् तर परिवर्तन मनभित्र हुने हो। हिंसा रोक्ने शक्ति तब आउँछ, जब घरभित्र प्रयोग हुने भाषाशैली वा संवाद बदलिन्छन्। एउटी आमाले छोरालाई पनि भान्सामा साथ दिन सिकाउनुपर्छ। छोरीलाई घरको चौघेरामा मात्र सीमित राख्ने सोच नराखी बाहिरको दुनियाँ नडराई हेर्न हौसला दिनुपर्दछ। शिक्षकले पनि कक्षामा सबै विद्यार्थीको आवाजलाई सुन्नुपर्दछ। परिवर्तन यस्तै स- साना अभ्यास बाट नै शुरु हुन्छ , तिनै अभ्यासले कालान्तरमा हिंसाको जरो उखेलिदिन्छ ।
उदाहरण : एउटा बगैँचामा गुलाब, चमेली, सूर्यमुखी जस्ता धेरै फूलहरू हुन्छन्। कसैको रङ, कसैको आकार र कसैको सुगन्ध फरक फरक हुन्छ। तर मौरीले कुनै फूललाई उत्तम र अर्को फुललाई कम भन्ने अधिकार राख्दैन , समाज पनि यस्तै बगैंचा हुनुपर्छ , जहाँ जन्मले होइन कर्मले पहिचान बनोस।
समाजमा हिंसा बढ्नुको कारण हामीभित्रै रहेको अहम् पनि हो। जस्तै कि, छोरालाई तिम्रो आवाज ठूलो होस् भनिन्छ छोरीलाई तिम्रो बोली सानो हुनुपर्दछ भनि सिकाइन्छ। छोरालाई भविष्यको भार दिइन्छ छोरीलाई वर्तमानकै बन्धनमा बाँधिन्छ।
समातामूलक समाज निर्माणको पहिलो शर्त शिक्षा हो। जबकि स्कुलमा पढाइने पाठले लैङ्गिकता होइन समानता बोल्नुपर्दछ। घरमा सुनाइने कथा डर होइन साहसको हुनुपर्छ र नानीहरुलाई दिइने सिकाई तिमी कमजोर छौ होइन तिमी पनि सक्षम छौ भन्ने आत्मबल दिनुपर्छ ।
हिजोका समाजमा छोरीलाई घुँडामा बिठाएर माया सिकाइन्थ्यो तर स्वतन्त्रता सिकाइँदैनथ्यो। छोरालाई स्वतन्त्रता दिइन्थ्यो तर संवेदना सिकाइँदैनथ्यो। यस्तै यस्तै कुराहरूले हिंसाको छायाँलाई ठूलो बनायो।
लैङ्गिक हिंसाको अन्त्य कुनै त्यस्तो ठूलो चमत्कारले हुँदैन, यसका लागि सर्वप्रथम त हाम्रो व्यवहार बदलिनुपर्छ, भाषा बदलिनुपर्छ र संस्कार बदलिनु पर्दछ। परिवर्तन कानुनको धारा मात्र होइन घरको वातावरणमा पनि जन्मिनुपर्दछ। पीडामा परेका व्यक्तिको आवाज सुन्नुपर्दछ र त्यसलाई नियाल्नुपर्दछ। गलत देख्दा मौन बस्ने परम्परा तोड्नुपर्छ ।
लैङ्गिक हिंसाको अन्त्य केवल लक्ष्य होइन यो सुरक्षित सम्मानित र समातामूलक समाज निर्माणको मूल आधार हो।
हामीले आज उठाएको सानो कदमले भोलिको पुस्तालाई हिंसामुक्त जीवन दिइनेछ। बराबरी सोच , बराबरी व्यवहार र बराबरी अवसर यही हो उज्यालो समाजको मार्ग ।
– रन्जिता खड्का

