

काठमाडौं – इन्टर मियामीलाई ऐतिहासिक उपाधि दिलाएका अर्जेटिनाका सुपरस्टार लियोनेल मेस्सीले लगातार दोस्रो सिजन पनि मेजर लिग सकर (एमएलएस)को ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी)अवार्ड जितेका छन्।

यो उपाधि पाउने उनी पहिलो खेलाडी बनेका छन्। इण्टर मियामीका फरवार्ड मेस्सीले दुई असिस्ट दिएको खेलमा उनको टोलीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलोपटक एमएलएस कप जितेको छ।

३८ वर्षे मेस्सीले २०२५ को नियमित सिजनमा २९ गोल गरेर सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट पनि जितिसकेका छन्।


आठपल्टका बलोन डी’ओर विजेता मेस्सी एउटा सिजनमा १० वटा मल्टी–गोल गर्ने पहिलो एमएलएस खेलाडी पनि हुन्। यसअघि स्टर्न जोन, मामाडु डियालो र ज्लाटन इब्राहिमोभिचले राखेको ८ खेलको रेकर्ड उनले तोडिदिएका छन्।
मेस्सीले यसअघि तीन ‘यूइएफए मेन्स प्लेयर अफ द इयर‘ अवार्ड, छ ‘युरोपियन गोल्डेन सु’, छ ‘ला लिगा बेस्ट प्लेयर’ उपाधि, स्पेनिस फुटबलका सर्वाधिक गोलकर्तालाई दिइने आठ ‘पिचिची ट्रफी’ र १५ पटक ‘अर्जेन्टाइन फुटबलर अफ द इयर’ सम्मान हासिल गरिसकेका छन्।

