Aamsanchar

तुलसीपुरमा दोस्रो नेवाः खाना महोत्सव सुरु, परम्परागत परिकारमा भीड

Author Image
बुधवार, मंसिर २५, २०८२

तुलसीपुर-  नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा मङ्गलबारदेखि तीन दिने दोस्रो नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ ।

नेवाः राष्ट्रिय मञ्च तुलसीपुरका अध्यक्ष शिवप्रसाद श्रेष्ठले यःमरी पुन्हीको अवसरमा नेवारी समुदायको खाना प्रचार–प्रसारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले नेवारी खानाका परिकारले स्वास्थ्यलाई फाइदा पुग्ने र पछिल्लो पुस्ताका लागि सिकाइको अवसरसमेत हुने भएकाले खाना महोत्सव आयोजना गरिएको बताउनुभयो ।

मञ्चका सचिव तुफानबाबु श्रेष्ठले महोत्सवमा यःमरी चाकु, यःमरी खुवा, बारा, चुकौनी, चना, बोडी, चटामरी, सेल, माछा स्टलमा राखिएको बताउनुभयो । महोत्सवको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले यस्ता महोत्सवले रैथाने खानाको परिकारलाई प्रवर्धनमा टेवा पुर्‍याउने बताउनुभयो । उहाँले सांस्कृतिक रूपमा नेपाली चाडपर्वको महत्त्व उत्तिकै भएको र ती पर्वमा खाइने परिकारले मानव स्वास्थ्यका लागि पनि निकै फाइदाजकन रहेको बताउनुभयो ।

उपप्रमुख चौधरीले पालिकाको तर्फबाट पालिका भित्रका विभिन्न समुदायमा पकाइने परिकारहरुको प्रचार प्रसार र प्रवर्धनको काम गर्दै आएको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीका सहप्राध्यापक डाक्टर योगेश वैद्यले योमरी चामलको पीठो,गुड र तिलबाट बनाइने भएकाले यो खानाले जाडोमा शरीर तताउन र पाचनका दृष्टिकोणले महत्त्वपूर्ण हुने बताउनुभयो । तुलसी बोर्डिक स्कुल कक्षा ८का विद्यार्थी सर्मपण पौडेलले योमरी नाम सुने पनि पहिले पटक स्वाद लिन पाएको बताउनुभयो ।

Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर