

काठमाडौं – हाँस्यकलाकार किरण केसी ‘रातामकै’ को अग्रसरतामा पुनःनिर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ । २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । स्थानीय समुदायको आर्थिक र भौतिक सहयोगमा रातामकैले ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन पुनःनिर्माण गरेका थिए ।

आइतबार बिहान आयोजित समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको आतिथ्यतामा कलाकार केसीले समितिका सदस्यहरूको उपस्थितीमा भवन हस्तान्तरण गरे ।

जेनजी आन्दोलनअघिको वृत्तको भवन पनि कलाकार केसीले नै निर्माण गरेका थिए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सबैभन्दा प्रमुख कुरा भएको बताए ।

सुरक्षा प्रदान गर्ने कार्यक्रममा नागरिकको सहयोग पनि आवश्यक रहेको जनाउँदै कार्कीले भवनको पुननिर्माणको लागि कलाकार केसी र स्थानीय समुदायलाई धन्यवाद दिए । महजोडीले पनि कलाकार केसीलाई यो सामाजिक कार्यको लागि धन्यवाद दिँदै कलाकारको दायित्व देश र समाजप्रति पनि हुनुपर्ने बताए । त्यो कुरालाई कलाकार केसीले पुष्टि गरेको उनीहरूले बताए ।
सो अवसरमा, पुननिर्माणमा सघाउने दाता र सहयोगीलाई सम्मान गरिएको थियो ।

