

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडक खण्ड भएर गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई राति ८:१५ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको मृत्यु भएको जानकारी मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दासलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ८:४५ बजेतिर मृत घोषणा गरिदिएका हुन् । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डलसमेत घाइते भएका छन् ।

रंगेली अस्पतालमा सम्भव नभएपछि मध्यम अवस्थाका उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको छ । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका–३ कौशल्या चोकमा रोकेर राखेको गाडीमा मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । सडकमा रोकेर राखिएको को १ क २६१८ नम्बरको गाडी (सिमेन्ट घोल्ने मेसिन) मा विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को ४० प १९२५ नम्बरको मोटरसाइकल राति ९:२० बजेतिर ठोक्किएर दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार गाडीमा पछाडिबाट मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालक ग्रामथान–१ का ४० वर्षीय सन्तोषकुमार माझी गम्भीर घाइते भएका हुन् । शरीरको विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । दुवै सवारीसाधन तथा गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

