Aamsanchar

टिपरबाट माटो झार्ने क्रममा हाइड्रोलिकले ‘हाइटेन्सन’ लाइनमा छुँदा करेन्ट लागेर सहचालकको मृत्यु

Author Image
शुक्रवार, पौष ४, २०८२

विराटनगर –  मोरङमा टिपरबाट माटो झार्ने क्रममा हाइड्रोलिकले बिजुलीको ‘हाइटेन्सन’ लाइनमा छुँदा करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो । को १ ख ५०४९ नम्बरको टिपरबाट मोटो झार्ने क्रममा शुक्रबार बिहान १० बजेतिर घटना भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

उनका अनुसार माटो झार्ने क्रममा टिपरको हाइड्रोलिकले ११ हजार भोल्टको विद्युत लाइनको तारमा छोएको थियो । हाइड्रोलिकले बिजुलीको तारमा छुनसाथ करेन्ट लागेर टिपरका सहचालक मोरङको बुढीगंगा गाउँपालिका–१ का २२ वर्षीय श्याम ऋषिदेव घाइते भएका थिए । घटनामा परेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।

उनलाई उपचारका क्रममा अपरान्ह १२:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । टिपर चालक सुनसरीको दुहबी नगरपालिका–७ का ४५ वर्षीय भोजकुमार चौधरी सकुशल छन् । घाइते भएका सहचालकको उपचारमा उनी आफैं खटिएका थिए ।

 

टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरू गरिएको डीएसपी चुँडालले बताइन् ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर