Aamsanchar

धरानमा गाँजा तस्करी रोकिएन

Author Image
शुक्रवार, पौष ११, २०८२

सुनसरी –  धरानमा दैनिकजसो गाजा तस्करलाई प्रहरीले पक्राउ गरिरहे पनि गाजा तस्करी नियन्त्रण हुन सकेको छैन। बिहीबार सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित चोकटी क्षेत्रमा इलाका प्रहरी कार्यालय धरानले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख भीषणबाबु राईको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले उक्त स्थानमा बेवारिसे अवस्थामा राखिएको बा १३ च ३६८४ नम्बरको महिन्द्रा कम्पनीको कार शंका लागी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताएका छन्।

एसपी थेबेले कारबाट १८० केजी लागुऔषध गाँजा बरामद भएको बताए। बरामद गाँजासहित उक्त कारलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धरानमा ल्याएर राखिएको छ। प्रहरीका अनुसार थप शंका लागेपछि गाडीको नम्बर प्लेट पुनः चेकजाँचका क्रममा बा १३ च ३६८४ नम्बरको स्टिकर हटाएर हेर्दाभित्र भारतीय नम्बर प्लेट डब्लूबी ०२ एए १४०२ रहेको खुलेको भेटिएको छ।

ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी भिषणबाबु राईले लागुऔषध ओसारपसारमा संलग्न समूहले विभिन्न नयाँ तरिका अपनाउँदै आएको बताए। उनले नम्बर प्लेट परिवर्तन गरेर तथा सवारी साधन बेवारिसे छाडेर तस्करी गर्ने, भरियामार्फत पैदल, तरकारी बोक्ने गाडी, एम्बुलेन्स र अटोमा गाजा तस्करी गर्ने गरेको पाईएको बताए।

डीएसपी राईका अनुसार लागुऔषध नियन्त्रणका लागि धरान र आसपासका क्षेत्रमा निगरानी कडा पारिएको छ। पछिल्लो समय धनकुटाबाट खुलेआम धरानको बाटो हुँदै लागुऔषध गाँजाको ओसारपसारमा वृद्धि भएको छ।

Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर