

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको बताएका छन् ।

मंगलबार मोरङ समाज काठमाडौंको २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणीसमेत गरे ।

“अहिले प्रहरीको मनोबल अत्यन्त खस्किएको छ । सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ,” उनले भने ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदी फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा शंका व्यक्त गरे ।
सरकारले निर्वाचनका लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै कोइरालाले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको स्मरण गराए ।
सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने महत्त्वपूर्ण प्रश्न रहेको उनको भनाइ छ ।
यस्तो छ कोराइलाको भनाइ
सबै राजनीतिक दलहरुले समानुपातिकको सूची पठायो पनि । तर, वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन रु भन्ने प्रश्नचाहिँ अहं प्रश्न छ । हामी भाग्दैनौँ निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्न सक्छ । तर, हामी निर्वाचनबाट भाग्दैनौँ । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नुपर्यो । शान्ति सुरक्षा दिन सक्नुपर्यो ।
प्रहरी प्रशासनको अत्यन्त मनोबल गिरेको अवस्था छ । नेपाली सेनाले निर्वाचन गराउने हैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ । नेपाली सेना त तेस्रो घेरामा मात्रै बस्छ । बुथमा बस्ने भनेको प्रहरी नै हो । प्रहरीलाई कति समस्या पर्छ भनेर हामीले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा देखेका छौँ । भय र त्रासमा भोट हालेको हामी सम्झिन्छौँ त्यो बेलामा ।
अर्को कुरा ५ हजार कैदीहरु जसमा सार्पसुटर पनि छन्, ती भागेका छन् । राज्यले खोज्नुपर्यो । लुटिएका हतियारहरु पनि छिटोभन्दा छिटो फिर्ता ल्याउनुपर्छ ।

