Aamsanchar

एक सय ५४ शिक्षकलाई तालिम

Author Image
बिहिवार, पौष २४, २०८२

फुङलिङ-  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम सुरु भएको हो ।

विहीबारदेखि सुरु भएको तालिम फक्ताङलुङ गाउँपालिका –३ सिंवामा अवस्थित सिंवा माध्यमिक विद्यालयमा ७ दिनसम्म चल्नेछ । फक्ताङलुङ गाउँपालिकाका –१ सावादिन, वडा –२ खेजेनिम र वडा –३ लिङखिमका विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि संयुक्त रुपमा तालिम आयोजना गरिएको रिड नेपालका ताप्लेजुङ प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो।

फक्ताङलुङ गाउँपालिकाका तीनवटा रिड नेपालको भर्खरै कार्यक्षेत्र बिस्तार हुँदा रिडको कार्यक्षेत्रमा समेटिएका हुन् । कार्यक्षेत्रमा बिस्तार भएपछि सेवा क्षेत्रका शिक्षकहरूका लागि पहिलो पटक यस्तो तालिमको आयोजना गरिएको रिड नेपालका शिक्षा विकास अधिकृत अमृता थलङले जानकारी दिनुभयो ।

कार्यक्षेत्र बिस्तार हुनुभन्दा अघि रिड नेपालले फक्ताङलुङ गाउँपालिकाको वडा –४ इखाबु, वडा –५ तापेथोक, वडा ६ लेलेप र वडा ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा ८ याम्फुदिन, ७ खेवाङ र ६ मामाङ्खेका विद्यालयहरूमा काम गर्दैआएको थियो ।

हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरेर रिड नेपालले ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रका विद्यालयमा सीप विकास, पूर्वाधार विकास र दक्षता विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर