Aamsanchar

नवौं राष्ट्रिय भाक्का दिवसलाई लिएर राजवंशी समुदायभित्र तीव्र विवाद, मोरङमा क्यामेरा–मोबाइल तोडफोड प्रयास

Author Image
शुक्रवार, पौष २५, २०८२

झापा ।
राजवंशी समुदायको मौलिक परिकार भाक्का लाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले हरेक वर्ष पुष २९ गते मनाइँदै आएको राष्ट्रिय भाक्का दिवस यस वर्ष समुदायभित्रकै गम्भीर विवादमा तानिएको छ ।

मोरङको धनपालथान गाउँपालिकामा आयोजना हुन लागेको नवौं राष्ट्रिय भाक्का दिवस को विरोध गर्दै केही व्यक्तिहरू आक्रामक रूपमा उत्रिएको आरोप लागेको छ । राजवंशी समाज विकास समितिका अनुसार विरोधको क्रममा चन्द्रप्रसाद राजवंशीले समितिका महासचिव राजकुमार राजवंशी ‘राजासाहेब’ माथि अभद्र व्यवहार गर्दै क्यामेरा र मोबाइल फोन फुटाउने प्रयास गरेका थिए । घटनाले कार्यक्रमको शान्तिपूर्ण वातावरण खल्बल्याउने प्रयास भएको समितिको दाबी छ ।

विवाद र विरोधका बाबजुद पनि आयोजकले कार्यक्रम शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । राजवंशी समाज विकास समितीले धनपालथान क्षेत्रमा देखिएको विरोधलाई संगठित पहिचानमाथिको आक्रमण को संज्ञा दिएको छ ।

यसैबीच कचनकवल गाउँपालिकाले राष्ट्रिय भाक्का दिवसको अवसरमा स्थानीय विदा दिने निर्णय गरेपछि राजवंशी समाज विकास समितीले त्यसको स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ । समितीले पुस २९ गते देश तथा विदेशमा रहेका सम्पूर्ण राजवंशी समुदायलाई भव्य रूपमा राष्ट्रिय भाक्का दिवस मनाउन आह्वान गरेको छ ।

समितीले कोच–राजवंशी रैथाने खानपानको प्रवद्र्धन गर्दै भाक्का पर्यटनको विकासमा टेवा पु¥याउन अन्य स्थानीय तहहरूलाई पनि स्वस्फूर्त रूपमा विदा दिन र सांस्कृतिक पहिचान उजागर गर्न आग्रह गरेको छ ।

राजवंशी समाज विकास समितीले विरोधमा उत्रिएकाहरूलाई कडा शब्दमा आलोचना गर्दै भनेको छ,

“राजवंशी समाजको नाममा ठेक्का लिएका केही अराजक तत्वहरूले सुरुदेखि नै राष्ट्रिय भाक्का दिवसको निरन्तर विरोध गर्दै आएका छन् । कहिले समाजलाई अहिन्दु घोषणा गर्ने, कहिले ‘राजबंशी’ नाम बिगार्ने, कहिले अनावश्यक संस्कार भित्र्याउने प्रयास सह्य नहुने अवस्थामा पुगेको छ ।”

समितीले राजवंशीहरूको ऐतिहासिक पहिचानसँग जोडिएको राष्ट्रिय भाक्का दिवसलाई खोस्ने षड्यन्त्र कसको इसारामा भइरहेको हो भन्ने प्रश्न उठाउँदै, यस्ता गतिविधिमा संलग्नहरूलाई समाज र कानुनको कठघरामा उभ्याइने चेतावनी दिएको छ ।

नवौं राष्ट्रिय भाक्का दिवस २०८२ लाई सफल बनाउन जिल्ला प्रशासन कार्यालय मोरङमार्फत मातहतका सुरक्षा निकायलाई सुरक्षा व्यवस्थाको आदेश दिइसकिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि विर्तामोडस्थित प्रशंसा बेकरी र बिटिएम मसला उद्योगबाट थप २५० –२५० केजी चामल प्रायोजन गरिएको छ । समितीले दुवै उद्यमीप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सुरक्षाका लागि झापा जिल्ला प्रशासन कार्यालयबाट पत्राचार भइसकेको र विर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालाको पश्चिम मैदान प्रयोगको अनुमति समेत प्राप्त भइसकेको जनाइएको छ ।

राजवंशी समाज विकास समितीले अन्त्यमा “राष्ट्रिय भाक्का दिवसको विरोध गर्नेहरूलाई समर्थन होइन, एकताले जवाफ दिनुहोस्” भन्दै कार्यक्रम सफल बनाउन सबै पहिचान पक्षधर र भाक्का प्रेमीहरूलाई साथ, समर्थन र स्वेच्छिक सहयोग गर्न अपिल गरेको छ ।

Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर