Aamsanchar

शुक्रबारदेखि वर्षाको सम्भावना : मौसमविद्

Author Image
बुधवार, माघ ७, २०८२

काठमाडौं-  मौसमविद्ले आउँदो शुक्रबार(माघ ९)देखि देशमा वर्षाको सम्भावना औँल्याएका छन् । पश्चिम नेपालमा वर्षाको राम्रो सम्भावना रहेको मौसमविद्ले उल्लेख गरेका छन् ।

“आज र भोलिको घमाइलो र अलि तातो मौसम परिवर्तन भएर शुक्रबारदेखि चिसो र झरी सुरु हुने देखिन्छ,” मौसमविद् विनोद पोखरेलले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौंमा वर्षाको राम्रो सम्भावना छैन । हल्कासम्म वर्षा हुन सक्ने उनको भनाइ छ ।

उनले लेखेका छन्, “पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ भने काठमाडौंसम्म हल्का वर्षा आउला भन्ने आस अझै छ ।”

पश्चिम नेपालमा हिमपातको पनि राम्रो सम्भावना रहेको मौसमविद्ले बताएका छन् । “पूर्वी नेपालको हिमाली भेगमा हल्का हिमपात मात्र सम्भावना देखिन्छ,” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक पोखरेलले लेखेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले पनि शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ‘मध्यम’ वर्षाको सम्भावना रहेको जनाएको छ । “कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

शुक्रबार राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा वाग्मती प्रदेशको एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले पनि काठमाडौंउ पत्यकामा वर्षाको सम्भावना थोरै मात्र रहेको जनाएका छन् । “भैहाले पनि हल्का वर्षा मात्रै होला, त्यो पनि शुक्रबार राति र शनिबार बिहानको बीचमा,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

हाल भूमध्यसागरमा जारी ‘हलचल’ले देशमा वर्षाको सम्भावना रहेको उनले बताएका छन् ।

“हाल भूमध्यसागरमा जारी हलचलले आउने शुक्रबार(माघ ९ गते) सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा ल्याउने देखिन्छ,” उनले लेखेका छन्, “वर्षा गण्डकीसम्म आइपुग्ने र वाग्मती सम्म आइपुग्दा धेरै कमजोर हुने देखिन्छ ।”

उनका अनुसार, पश्चिम नेपालमा हुने भनिएको वर्षा सामान्य खालको हो । त्यसले चिसो बढाउने उनले उल्लेख गरेका छन् । “यसले बाढीपहिरोजस्ता विपद् ल्याउँदैन । तर, चिसो भने मज्जाले गराउँछ ।”

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर