Aamsanchar

अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण

Author Image
सोमवार, माघ १२, २०८२

गुल्मी – गुल्मी जिल्ला सदरमुकाम तम्घासमा अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण गरिएको छ ।

रेसुङ्गा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा)को भाडादर र रुट निर्धारण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए । ट्राफिक व्यवस्थापन, यात्रु सुरक्षालाई सुनिश्चित गर्न तथा सेवामा एकरूपता ल्याउने उद्देश्यले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि–२०८२ बमोजिम भाडादर र रुट निर्धारण गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार तम्घास बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ दुनीखोला, खानिगाउँ, पश्चिमतर्फ भुजेलखर्क, आदर्श चोक, उत्तरतर्फ बोख्रेछेडा, धागिथुम, उदिनढुङ्गा बेरियल र दक्षिणतर्फ उपल्लो तम्घास देउराली क्षेत्रसम्म प्रति व्यक्ति भाडा रु. ५० तोकिएको छ । सोही क्षेत्रमा रिजर्भ सेवाका लागि रु. १०० भाडादर कायम गरिएको छ ।

 

तोकिएका स्टेशनभन्दा बाहिर यात्रा गर्दा कच्ची सडकमा प्रति किलोमिटर रु. ६० र पक्की सडकमा प्रति किलोमिटर रु। ५० भाडा निर्धारण गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले बताए । तोकिएको समयबाहेक सेवा आवश्यक परेमा रिजर्भ सेवामार्फत मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले तोकिएको भाडादरभन्दा बढी भाडा लिएको वा नियमविपरीत सेवा सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ । यात्रुहरूलाई पनि तोकिएको भाडादरअनुसार मात्र सेवा लिन र कुनै गुनासो भए नगरपालिकामा जानकारी गराउन आग्रह गरिएको छ ।

नगरपालिकाका अनुसार अटो तथा ई–रिक्सा सेवा बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म नियमित रूपमा सञ्चालन गर्न सकिनेछ ।

 

Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर