Aamsanchar

झापा गोल्डकप सुरु हुँदै, बालेन साहको शुभकामना सन्देश

Author Image
शनिवार, माघ २४, २०८२

झापा । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन साह (बालेन्द्र साह) ले आजबाट झापाको डोमालाल राजवंशी रंगशालामा सुरु हुन लागेको झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण सफलताको शुभकामना व्यक्त गरेका छन् । मोफसल फुटबलको पहिचान र नेपाली फुटबलप्रतिको जनआकर्षणको प्रतीकका रूपमा स्थापित झापा गोल्डकपले नेपाली फुटबललाई नयाँ ऊर्जा दिने विश्वास उनले व्यक्त गरेका हुन् । आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना पोष्ट गरेका हुन ।

शुभकामना सन्देशमार्फत बालेन साहले काठमाडौंमा सञ्चालन भइरहेको राष्ट्रिय लिगमा दर्शकको उपस्थिति न्यून देखिनु दुखद भएको उल्लेख गर्दै, यसको विपरीत मोफसलमा फुटबलप्रतिको क्रेज अझै जीवित र उत्साहपूर्ण रहेको बताएका छन् । झापा, मोरङ, सुनसरी, चितवन, पोखरा र धनगढीमा आयोजना हुने गोल्डकप प्रतियोगिताहरूमा दैनिक हजारौँ दर्शकको उपस्थिति हुनु नै मोफसल फुटबलको बलियो आधार भएको उनको भनाइ छ ।

उनले काठमाडौं केन्द्रित फुटबल संरचनामाथि प्रश्न उठाउँदै, राष्ट्रिय लिगमा खेलिरहेका अधिकांश खेलाडी मोफसलमै उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरूको उपस्थिति सीमित हुनु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन् । पछिल्ला वर्षमा केही क्लब डिभिजन फुटबलमा प्रवेश गरे पनि केन्द्रिकृत संरचना, उच्च खर्च र व्यवस्थापन चुनौतीका कारण काठमाडौं बाहिरका क्लबहरूलाई टिक्न गाह्रो भइरहेको उनको टिप्पणी छ ।

बालेन साहले अब नेपाली फुटबलको नीति बिकेन्द्रिकरण र व्यवसायीकरण तर्फ जानुपर्ने आवश्यकता औंल्याएका छन् । फुटबल केही काठमाडौंका क्लबमा मात्र सीमित नरहोस्, खेलाडी र क्लबहरू काठमाडौं आउन बाध्य मात्र नहुन्, बरु काठमाडौंका क्लब र खेलाडीहरूलाई मोफसलका रंगशालाले निम्तो दिऊन् भन्ने धारणा उनले अघि सारेका छन् ।

पूर्वमा झापा ११ जस्ता क्लब उत्रँदा धनगढीका रंगशाला दर्शकले भरिनु, पश्चिमको धनगढी रंगशालामा मछिन्द्र र थ्रीस्टार क्लबका झण्डाले रंगशाला रंगिनुजस्ता दृश्यले नै नेपाली फुटबलको उज्यालो र समावेशी भविष्य देखाउने उनको विश्वास छ । यस्तो संरचना विकास भएमा फुटबलकै कारण खेलाडी विदेशिनुपर्ने बाध्यता पनि घट्ने अपेक्षा उनले व्यक्त गरेका छन् ।

यही आशा र सम्भावनाको प्रतीक बनेको झापा गोल्डकपको सातौँ संस्करण सफल होस् भन्ने कामनासहित बालेन साहले आयोजक, खेलाडी र दर्शक सबैलाई शुभकामना दिएका छन् ।

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर