Aamsanchar

सुनचाँदीको मूल्य पनि शेयर बजार जस्तो !

Author Image
आइतवार, माघ २५, २०८२

सुनचाँदीको मूल्य पहिलाको जस्तो स्थिर किसिमको रहेन । सुनचाँदी पनि शेयर बजारको जस्तो अस्थिर हुन थाल्यो । यसमा पेपर गोल्डको कारोबार पनि धेरै बढेको सङ्केत गरिरहेको छ । पहिला सुन भन्नासाथ गहनाका लागि हुन्थ्यो । गहनाका लागि ४० प्रतिशतसम्म माग हुन्थ्यो ।

केन्द्रीय बैंकमा मौज्दात राख्नका लागि २० प्रतिशत माग हुने गरेको थियो । त्यो बाहेक अरू भनेको औधोगिक लगायतकाका लागि माग हुने गरेकोमा अहिले गहनाका लागि माग नै घटेर २० प्रतिशतभन्दा कम छ । लगानीका लागि ढिक्का सुनको माग र पेपर गोल्डका लागि कमोडिटी बजारमा माग आउने गरेको छ । यसको ट्रेण्ड भनेको शेयरको हाराहारीमा उतारचढाव हुन थालेको छ । शेयर र सुनचाँदी बीचको सम्बन्ध उल्टो हुन्छ । शेयर उकालो लाग्दा सुनचाँदी भने ओरालो लागेको हुन्छ र शेयर ओरालो लाग्दा यो सुनचाँदी भने उकालो लाग्छ । विश्वको बित्तीय बजारमा जुन अस्थिरता आयो त्यसको शुरुबाट अमेरीकी राष्ट्रपति ट्रम्पको अस्थिर नीतिले ल्याएको जस्तो लाग्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूका कारण शेयर बजारलाई धेरै झट्का लागेको छ । अमेरिकाले क्यानडा लगायतका धेरै देशबाट आउने सामानमा एक सय प्रतिशत ट्यारिफ लगाउने गर्न थालेपछि लगानीकर्ताहरू डराएका छन् । जब विश्वमा युद्ध, हमला वा ठूलो राजनीतिक उल्झन हुन्छ, तब मानिसहरू आफ्नो पैसा शेयर बजार वा अन्य जोखिमपूर्ण क्षेत्रबाट निकालेर सुन जस्ता सुरक्षित चीजहरूमा लगाउँछन् । यस अनिश्चितता र भू–राजनीतिक जोखिमका कारण लगानीकर्ताहरू सुनतर्फ मोडिएका छन् । जसले गर्दा यसको माग बढ्यो र मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको छ । जनवरीको अन्त्यमा सुनको मूल्य पहिलो पटक ५ हजार डलर प्रति औन्सभन्दा माथि पुग्यो ।

अबका दिनमा ५ हजार ६ सय डलर नाघ्ने प्रक्षेपण गर्न सकिन्छ । ६ सय डलरसम्म अर्थात् चारदेखि साढे चार लाखसम्म पनि मूल्य पुग्ने प्रक्षेपण गरिए पनि अमेरीकी केन्द्रीय बैंकका लागि नयाँ गर्भनर केभिन वाट्स नियुक्ती प्रक्रिया शुरु भएसँगै मूल्यमा गिरावट आउन थाल्योे । उहाँको नियुक्ती प्रक्रियासँगै अमेरीकामा मौद्रिक नीतिमा सुधार आउने आँकलन गर्न थालियो । बेरोजगार दर कम हुने र मुद्रास्फिती पनि कम गराउने आशा पलायो जसका कारण सुनचाँदीको मूल्यमा गिरावट आएको हो ।

अब भने सुनचाँदीको मूल्य बढ्ने र घट्ने दुवै सम्भावना छ । मूल्य बढ्नुको मुख्य कारण भनेको अमेरीकासहित विकसित देशको ऋण धेरै छ । जसले गर्दा यी देशहरुले ब्याजदर बढाउन सक्दैन, किनकी ब्याजदर बढाउने बित्तिकै ऋणको भार झन बढ्ने भयो । त्यसकारण लगानीको प्रतिफलका लागि सुनचाँदी अहिलेका लागि सबैभन्दा राम्रो हो । कुनै पनि क्षेत्र लगानीका लागि त्यतिकै अन्धाधुन्ध रूपमा लहलहैमा लागेर लगानी गर्न हुँदैन । यसका लागि अध्ययन गरेर गर्नुपर्छ । अहिले सुनचाँदीको बजार भोलाटाइल अर्थात् अस्थिर छ, त्यसैले यो समय पर्ख र हेर लाई विचार गर्नुपर्छ ।

(नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यसँग गरेको कुराकानीमा आधारित)

उज्यालोअनलाईनबाट साभार

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२