चितवन। महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा चितवनस्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप महत पक्राउ परेका छन्।

उनीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

पीडित महिलाले २०८२ भदौ महिनामा आफूलाई खैरहनी क्षेत्रको एक होटलमा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीले जानकारी दिएका छन्।
डीआईजी रेग्मीका अनुसार, “जाहेरी दर्ता भएको छ, घटनाबारे अनुसन्धान भइरहेको छ।”

प्रहरी स्रोतका अनुसार, घटनाको प्रकृति र प्रमाण संकलनका आधारमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइनेछ। आरोपित प्रहरी अधिकृत भएकाले अनुसन्धान निष्पक्ष र पारदर्शी ढंगले अघि बढाइने प्रहरीको भनाइ छ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार जबरजस्ती करणी कसूरमा दोषी ठहर भएमा घटनाको प्रकृति र परिस्थितिअनुसार कडा सजायको व्यवस्था छ।
प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।


