Aamsanchar

अज्ञात समूहद्वारा सामुदायिक वनमा जम्मा गरेको सालका काठमा आगजनी, एक करोड रूपैयाँभन्दा बढीको क्षति

Author Image
बिहिवार, माघ २९, २०८२

रौतहट- अज्ञात समूहले रौतहटको एक सामुदायिक वनमा जम्मा गरेको सालका काठमा आगजनी गर्दा एक करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ ।

चन्द्रपुर नगरपालिका –२ जुडिबेलामा रहेको नमुना सामुदायिक वनले ६ वर्षअघि कटान गरेर घाटगड्डी गरिराखेको करिब आठ हजारभन्दा बढी घनफिट सालका गोलियामा आगलागी हुँदा एक करोड रुपियाँभन्दा बढी क्षति भएको हो ।

आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन उपभोक्ता समूहका सदस्यलाई हम्मे परेको थियो । उपभोक्ताका माग र आवश्यकता पूरा गर्न कटान गरी घाटगड्डी गरिएको उक्त परिमाणको काठको लेखापरीक्षण र साधारणसभा नगरेको कारण उपभोक्ताले खरिद गर्न समेत नपाएको उपभोक्ताकै गुनासो छ ।

समयमै काठ बिक्री नुहनु, वन गस्ती सक्रिय नहुनु र उपभोक्ता जागरुक नहुनुले पनि अज्ञात समूहले आगजनी  गरेको हुन सक्ने वन समितिका सदस्यले बताउनुभयो । २०७६ सालमा चारसय केभी लाइन विस्तारको क्रममा काटिएका ती सालका गोलियामा आगलागी भएको सवडिभिजन वन कार्यालय जुडिबेलाका अधिकृत बालकिशोर सिंहले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उक्त सामुदायिक वन समूहलाई अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न गरेको पत्राचारले साधारण सभा र लेखापरीक्षण हुन नसक्दा काठ बिक्री भएको थिएन ।

करिब पाँच घण्टा जति लागेको आगोको जानकारी समयमा नपाउँदा क्षति बढेको प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीले बताउनुभयो । उहाँकाअनुसार प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ । आगलागीको वास्तविक कारण पत्ता लगाउन प्रयास गरिरहेको प्रहरीको भनाइ छ ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर