

काठमाडौं – रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हत्यामा प्रतिबन्धित र दुर्लभ डार्ट फ्रग विष प्रयोग गरेको पाइएको दाबी गरिएको छ।

बेलायतसहितका युरोपेली शक्ति राष्ट्रहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नाभाल्नीको शरीरमा दक्षिण अमेरिकी भ्यागुताबाट निकालिने एपिटिबाडाइन नामक घातक विष भेटिएको दाबी गरेका छन्।
यो विषले स्नायु प्रणालीमा सिधै आक्रमण गरी मानिसलाई पक्षघात गराउँछ। नाभाल्नी जेलमै रहेको अवस्थामा यस्तो दुर्लभ विष पुर्याउनुले यसमा रुसी सरकारकै संलग्नता रहेको पश्चिमा देशहरूको आरोप छ।

यद्यपि, रुसले यसलाई आधारहीन भन्दै नाभाल्नीको मृत्यु प्राकृतिक कारणले भएको जिकिर गरिरहेको छ। यस घटनाले रुस र पश्चिमा मुलुकबीचको कुटनीतिक सम्बन्धमा थप दरार पैदा गरेको छ।
यसैबीच, इरानी सरकारको दमनकारी नीतिविरुद्ध विश्वभर रहेका इरानी नागरिकले विशाल विरोध प्रदर्शन गरेका छन्। ग्लोबल डे अफ एक्सन अन्तर्गत म्युनिख, लस एन्जलस र टोरन्टो जस्ता सहरमा प्रदर्शनकारीहरूले इरानमा तन्त्र परिवर्तनको माग गरेका हुन्।
म्युनिखमा मात्रै साढे दुई लाखभन्दा बढी मानिसले र्याली निकालेका छन्। यसै विषयलाई लिएर अमेरिका र इरानबीच कडा वाकयुद्ध सुरु भएको छ। अमेरिकाले इरानी जनताको लोकतान्त्रिक अधिकारको समर्थन गरेको छ भने इरानले यी प्रदर्शनहरूलाई अमेरिकी र इजरायली षड्यन्त्रको संज्ञा दिँदै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।
इरानभित्र बढ्दो महँगी र नागरिक स्वतन्त्रताको हननले यो आन्दोलन थप उग्र बन्दै गएको छ।


