बिर्तामोड।
धानमा आधारित उद्योग स्थापनाका लागि आएको तीन करोड २२ लाख ९९ हजार रुपैयाँ उद्योग मन्त्रालयका कारण फ्रिज भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आएको उक्त रकम फ्रिज भएको हो । ५० प्रतिशत अनुदानमा खर्च गर्ने गरी सरकारले सो रकम घरेलु तथा साना उद्योग कार्यालय झापामार्फत पठाएको थियो ।
आर्थिक बर्ष सकिन अगावै उक्त रकम खर्च गरिसक्नु पर्ने विनियममा उल्लेख छ । तर, मन्त्रालयले ०७४ जेठ २२ गते सो रकम पठाएको र कार्यविधि नपठाएका कारण कसरी रकम खर्च गर्ने भन्ने विषयमा अन्यौल छाएको र कार्यविधि माग गर्दागर्दै समय सकिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्द्र मिश्रले बताए ।
उनले भने– अख्तियारी बिना आएको बजेट कसरी चलाउने भन्ने विषयमा थाह नभएका कारण अख्तियारी पत्र आएर ३० दिने सूचनाको मिति समेत नसकिँदै बजेट फ्रिज भएर गयो, मेसिनेरी सामग्री खरिदका लागि टेण्डर आव्हानसहितको ३० दिने सूचनाको म्याद साउन ५ गते मात्र सकिँदैछ ।
बनियानीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि सो रकम आएको र त्यस क्षेत्रका किसानले धानमा आधारित उद्योग तथा प्रविधिलाई अनुदानमा रकम प्रदान गर्न सरकारले बजेट विनियोजन गरेको थियो । मिश्रले भने– एकपटक मात्र हामीलो बैठक राख्न पायौं, समय अभावका कारण काम भने गर्न पाएनौं । समयमै रकम आइ दिएको भए त्यस क्षेत्रका किसान लाभान्वित हुने थिए । उनले भने– टेण्डर आव्हानको सूचना नसकिँदै बजेट फ्रिज हुनु भनेको आफैंमा लज्जास्पद कुरा हो । झापामा योसँगै ७६ करोड ३२ लाख २ हजार ६ सय १५ रुपैयाँ बजेट फ्रिज भएको छ ।
अढाई करोड राजश्व
घरेलु तथा साना उद्योग कार्यालय झापाले आर्थिक बर्ष ०७३÷०७४मा दुई करोड ४७ लाख ७३ हजार ७ सय ५३ रुपैयाँ राजश्व संकलन गरेको छ ।
जसमा उद्योगतर्फ ८७ लाख सात सय रुपैयाँ र बाणिज्यतर्फ एक करोड ६० लाख ७२ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक बर्ष कार्यालयले एक करोड ६० लाख ७२ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन गरेको थियो । जसमा बाणिज्यतर्फ एक करोड १३ लाख ८५ हजार २ सय ३७ रुपैयाँ र उद्योगतर्फ ५८ लाख ४२ हजार एक सय रुपैयाँ राजश्व संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्र मिश्रले जानकारी दिए ।
आर्थिक बर्ष ०७३।०७४मा झापामा ८ सय २२ वटा उद्योगतर्फ दर्ता भएका छन् । अघिल्लो आर्थिक बर्ष ७१६ वटा उद्योग दर्ता भएकोमा यस बर्ष झापामा उद्योग दर्ता गर्नेको संख्या बृद्धि भएको मिश्रले बताए । उनले भने– कृषि तथा वनजन्य उद्योग सबैभन्दा बढी दर्ता भएका छन् भने सेवामूलक र उत्पादनमूलक उद्योग झापामा बढी दर्ता भएका छन् । कृषि तथा वनजन्य उद्योग ३३७ वटा दर्ता भएको मिश्रले बताए । मिश्रका अनुसार सेवामूलक ३०५ वटा उद्योग दर्ता भएका छन् भने उत्पादनमूलक २३२ वटा दर्ता भएका छन् । त्यस्तै निर्माण सम्बन्धी २९ र पर्यटन उद्योग १९ वटा दर्ता भएका छन् । अघिल्लो आर्थिक बर्ष सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग नै दर्ता भएका थिए । उद्योग दर्ताबाट मात्रै ८७ लाख सात सय रुपैयाँ राजश्व संकलन भएको छ ।
यता बाणिज्यतर्फ आर्थिक बर्ष ०७३।०७४मा झापामा ९२१ वटा फर्म दर्ता भएका छन् । जसबाट एक करोड ६० लाख ७२ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्ष १ हजार २५ वटा फर्म दर्ता भएका थिए । झापामा उद्योग स्थापना गर्ने क्रम बढेसँगै रोजगार पाउनेको संख्यामा समेत बृद्धि भएको छ । उद्योग स्थापनाका कारण झापामा ५ सय ४७ जना महिला र एक हजार सात सय २७ जना पुरुष गरी दुई हजार दुई सय ७४ जनाले रोजगारी पाएका छन् ।
झापामा ०७४ असारसम्म उद्योगतर्फ ७ हजार ६ सय ९८ वटा उद्योग दर्ता भएका छन् । जसमा उत्पादनमूलक ३ हजार ५ सय १६, ऊर्जामूलक ९, कृषि तथा वनजन्य १ हजार एक सय १८, पर्यटन एक सय ८२, खनिज २, सेवामूलक दुई हजार ६ सय १५ र निर्माण सम्बन्धी दुई सय ५६ वटा उद्योग दर्ता भएको कार्यालय प्रमुख मिश्रले बताए ।