Aamsanchar

झापामा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित गोली र म्याग्जिन बरामद

Author Image
सोमवार, फागुन ४, २०८२

झापा – जिल्ला झापाको कन्काई नगरपालिका–८ स्थित मिश्रा टोलमा लुकाइछिपाई राखिएको अवैध हातहतियार प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार मिति फागुन ३ गते दिउँसो करिब १ः३० बजे लागूऔषध तथा अवैध हातहतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा को संयुक्त टोलीले खानतलासी गरेको थियो।

प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको कमाण्डमा खटिएको टोलीले कन्काई नगरपालिका–८ मिश्रा टोल निवासी तुलबहादुर थापा मगरको घरमा छापा मार्दा उनका छोरा २२ वर्षीय सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा लुकाई राखेको प्लाष्टिकको ड्रमभित्रबाट एक थान ऋँ ढडढ ःः पेस्तोल, ४० राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरेको हो।

अनुसन्धानका क्रममा बरामद गरिएको पेस्तोल, म्याग्जिन र गोली गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा इलाका प्रहरी कार्यालय अनारमनी बाट लुटिएको पुष्टि भएको प्रहरीले जनाएको छ।

हातहतियार लुटपाटमा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ निवासी २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।

यस्तै, घटनामा संलग्न रहेका फरार सौगात थापा मगरको खोजतलास कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

Views: 16

प्रतिक्रिया (०)