

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका-२० बिष्णुपादुकाबाट ठूलो परिणामको गाँजा सहितको गाडी र तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबू राईले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित दुई वटा गाडी र दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

मंगलबार बिहान २:१० बजेको समयमा धरान उपमहानगरपालिका–२० बरडाँडा क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले ९५५ केजी गाँजा बरामद गरेको छ।चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेका सवारी साधनलाई रोकेर जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको डिएसपी राईले बताए ।
ईलाका प्रहरी कार्यालय धरानबाट डिएसपी राईको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका दुई वटा गाडी जाँच गर्दा गाँजा बरामद गरेको हो । उक्त स्थान इलाका प्रहरी कार्यालय धरानबाट करिब २५ किलोमिटर पश्चिम–उत्तर क्षेत्रमा पर्दछ ।
प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीमा ३३ पोका गरी ४९५ केजी गाँजा फेला परेको छ । उक्त गाडीका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–८ निवासी वर्ष ३३ का सन्दीप कुमार माझीलाई पक्राउ गरिएको डिएसपी राईले बताए ।
त्यसैगरी, बी एसी ३२३६ नम्बरको गाडीमा २३ पोका गरी ४६० केजी गाँजा बरामद गरिएको छ। सो गाडीका चालक काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका–८ निवासी वर्ष ३३ का नगेन्द्रराज श्रेष्ठ पनि पक्राउ परेका छ्न ।
बरामद गाँजा, दुवै गाडी तथा चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजी कार्य समेत अघि बढाइएको डिएसपी राईले बताए ।
प्रहरीका अनुसार पछिल्लो समय धरान आसपासका क्षेत्र हुँदै अवैध लागुऔषध ओसारपसार हुने क्रम बढ्दो देखिएकाले निगरानी र चेकजाँचलाई थप कडा बनाइएको छ। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाई छ ।


