

मलङ्गवा – सर्लाही सदरमुकाम मलंगवामा बिहीबार दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। गोली लागेर मलंगवा नगरपालिका–४ ढाका बोर्डर टोलका १५ वर्षीय आकाश राम घाइते भएका हुन्।

घर नजिकै निर्माणाधीन हनुमान मन्दिर भित्र रातो कपडाले बेरिएको अवस्थामा आकाशले पेस्तोल फेला पारेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

गोली उनको दाहिने हातको पन्जामा लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ। पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पेस्तोल भेटिएको स्थानबाट करिब ५ सय मिटरको दुरीमा आइतबार साझ पूर्वाधार विकास कार्यलयको सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको थियो।


