

जापानको ओसाका शहरमा पुरानो पानी वितरण प्रणाली सुधार्न एक जना दाताले २१ किलोग्राम सुन दान गरेका छन् ।

ती दाताले ३६ लाख अमेरिकी डलर बराबरको २१ किलो सुन दान गरेका ओसाका शहरका मेअर हिदेयुकी योकोयामाले बताउनुभएको बीबीसीले जनाएको छ । ती दाताले आफ्नो नाम नखुलाएका पत्रकार सम्मेलनमा मेअर योकोयामाले जानकारी दिनुभयो । यिनै दाताले यसअघि ओसाका नगरपालिकाको पानी वितरणका लागि ५ लाख येन दान दिएका थिए ।
झन्डै ३० लाख मानिसको बसोबास रहेको ओसाका जापानको तेस्रो ठूलो शहर हो । कान्साई क्षेत्रमा रहेको ओसाका व्यस्त व्यापारिक केन्द्र पनि हो ।

सन् २०२४ मा ओसाकामा पाइप फुटेर बाटोमुनिबाट पानी चुहावटका ९० वटाभन्दा धेरै घटनाहरू जानकारीमा आएका सरकारी निकायले जनाएको छ । ओसाकासहित अन्य शहरहरूमा पानी वितरण र ढल निकास गर्ने पाइपहरू निकै पुराना भइसकेका कारण सुरक्षा चिन्ता उत्पन्न भएको छ ।
जापानमा २० प्रतिशतभन्दा धेरै पाइपलाइनले कानूनी रूपमा निर्धारित ४० वर्षको अवधि पार गरिसकको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।


