

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत हुने गरी स्थानीय तहका केही जनप्रतिनिधिहरू राजनीतिक दल तथा उमेदवारको प्रचारप्रसारमा सहभागी भएको उजुरी/गुनासोपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आइतबार (फागुन १०)विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागु गरिएको र यसको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिएको जनाएको छ ।

´निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांशको बुँदा नम्बर (४) माूस्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको र सोही दफाको खण्ड (ख) ले त्यसरी निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने भन्ने व्यवस्था गरेको हुँदा कुनै पनि स्थानीय कार्यपालिकाका पदाधिकारीले यस व्यवस्थाको अधीनमा रही मात्र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन सक्ने देखिन्छ,`आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उमेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।

साथै, सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वलाई मनन गर्दै आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गतिविधिमा संलग्न नहुन आयोगले निर्देशन दिएको छ । आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा समेल भए कारबाही हुने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।


