Aamsanchar

माेरङमा सडक किनारमा एकजना पुरुषको शव फेला

Author Image
शुक्रवार, फागुन १५, २०८२

विराटनगर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए।

 

उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ११स्३० बजेतिर शव भेटिएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए।

प्रहरीका अनुसार परिवारका अन्य सदस्य नरहेको र एक्लै बस्दै आएका भुजेल प्लाष्टिक, बोतल एवं कागज संकलन गरी कबाडीलाई बेचेर गुजारा चलाउँथे। दुवै खुट्टामा चोट लागेको अवस्थामा शव फेला परेकाले दुर्घटनाको आशंका गरिएको चौधरीको भनाइ छ। उनका अनुसार घटनाको प्रकृति हेर्दा सवारीसाधनको ठक्करबाट भुजेलको मृत्यु भएजस्तो देखिन्छ। यद्यपि, दुर्घटना गराउने सवारीसाधन एवं चालकको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्रै घटनासँग सम्बन्धित वास्तविक विवरण यकिन हुने डीएसपी चौधरीको भनाइ छ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर