Aamsanchar

वीरगन्जमा बमसहित तीनजना नेपाली सेनाको नियन्त्रणमा

Author Image
बुधवार, फागुन २०, २०८२

वीरगन्ज – निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले वीरगन्जमा सञ्चालन गरेको विशेष सर्च अभियानमा तीनजना पक्राउ परेका छन् । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले गरिएको उक्त अभियानलाई सुरक्षा निकायले ठूलो सफलताका रूपमा लिएको छ ।

गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा सञ्चालन गरिएको विशेष सर्च अपरेसनका क्रममा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले गतिविधि गरिरहेको आशंकामा तीनजनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा वीरगन्ज १६ निवासी कृष्ण यादव, सोही ठाउँका रोहित पटेल र अवजित यादव छन् । उनीहरूको साथबाट नौ थान सुतली बम, सेतो रंगको तार पाँचवटा बरामद गरिएको श्रीजंग गणका उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए ।

निर्वाचनको समयमा कुनै पनि प्रकारको साम्प्रदायिक वा अराजक गतिविधि हुन नदिन सेना पूर्णरूपमा सतर्क रहेको उनले बताए ।

सुरक्षा निकायका अनुसार बरामद गरिएका सामग्रीले धार्मिक सद्भाव खलबल्याउने तथा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य देखिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर