Aamsanchar

केन्द्रीय सुरक्षा समितिको निष्कर्ष : निर्वाचनमा विशेष चुनौती छैन

Author Image
बुधवार, फागुन २०, २०८२

भोलि देशभर हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ। निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रीय सुरक्षा समितिले आकाशीय निगरानीसमेत गर्ने रणनीति तय गरेको छ।

बुधबार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको उच्चस्तरीय बैठकले मतदानको दिन हेलिकप्टरमार्फत गस्ती गर्ने निर्णय गरेको हो। आवश्यक परे आकस्मिक उद्धार तथा सुरक्षात्मक परिचालनका लागि हेलिकप्टर स्ट्याण्डबाइ राखिनेछ।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो। छलफलमा निर्वाचन तयारी, सम्भावित जोखिम र सुरक्षा व्यवस्थापनका विविध पक्षबारे विस्तृत समीक्षा गरिएको जनाइएको छ।

गृह मन्त्रालयकी उपसचिव रमा आचार्यका अनुसार मतदानको समयमा सुरक्षा मजबुत बनाउन विशेष सतर्कता अपनाइनेछ। “मतदानका क्रममा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले हेलिकप्टरबाट निगरानी गर्ने विषयमा छलफल भएको छ,” उनले जानकारी दिइन्।

यसैबीच, केन्द्रीय सुरक्षा समितिले हालको अवस्थालाई मूल्याङ्कन गर्दै भोलिको निर्वाचनका लागि कुनै विशेष सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ। सुरक्षा प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रको अवस्था प्रस्तुत गर्दै तयारी पूरा भएको बताएका थिए।

यसअघि गृहसचिवले देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट संवाद गर्दै जिल्लागत सुरक्षा अवस्थाको जानकारी लिएका थिए। समग्रमा, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको सरकारको दाबी छ।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर