Aamsanchar

ड्युटीमै मताधिकार : सुरक्षाकर्मीका लागि १४३ अस्थायी मतदान केन्द्र

Author Image
बुधवार, फागुन २०, २०८२

फायल फोटो गुगलबाट ।

निर्वाचन ड्युटीमा खटिने सुरक्षाकर्मी र कर्मचारीले पनि मताधिकार प्रयोग गर्न पाउने सुनिश्चितता गर्दै निर्वाचन आयोगले देशभर १४३ अस्थायी मतदान केन्द्र स्थापना गरेको छ। समानुपातिक प्रणालीअन्तर्गत मात्रै मतदान गर्न पाउने गरी १ लाख ८६ हजार अस्थायी मतदाता यसपटक सूचीकृत भएका छन्।

निर्वाचनको समयमा आफ्नो कार्यस्थलभन्दा बाहिर खटिनुपर्ने अवस्था आउने भएकाले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सरकारी कर्मचारीलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी केन्द्रहरू मुख्यतः मतदाताको संख्या धेरै हुने स्थानलाई आधार मानेर तोकिएका छन्।

यद्यपि सैनिक ब्यारेक वा प्रहरी कार्यालयभित्रै मतदान केन्द्र भने राखिएको छैन। सुरक्षाकर्मीहरूले समेत तोकिएको अस्थायी केन्द्रमा पुगेर मात्रै मतदान गर्नुपर्ने व्यवस्था छ।

हाल देशभर करिब ९५ हजार सैनिक, ३५ हजार सशस्त्र प्रहरी र ८० हजार नेपाल प्रहरी कार्यरत छन्। तर अस्थायी मतदाता नामावलीमा नाम दर्ता नगरेका कर्मचारी तथा सुरक्षाकर्मीले भने मतदान गर्न नपाउने आयोगले जनाएको छ।

मतगणनामा गोपनीयता कायम राख्न कम्तीमा तीन वा सोभन्दा बढी मतपेटिका एकैसाथ मिसाएर गणना गरिनेछ। यसरी गणना गर्दा कुनै विशेष स्थान वा समूहबाट कति मत आयो भन्ने छुट्याउन नसकिने आयोगको दाबी छ। व्यारेकमा रहेका सुरक्षाकर्मीले हालेका मतपत्र पनि अन्य क्षेत्रका मतपत्रसँग मिसाएरै गणना गरिनेछ।

Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर