

रौतहट- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–१ मा गाडीको ठक्कर बाट बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। शनिबार राति सोही स्थानको मंगलपुरका १२ वर्षीय बालकलाई सवारी साधनले ठक्कर दिँदा ज्यान गएपछि आक्रोशित स्थानीयले राजमार्गमा टायर बालेर चक्काजाम गरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको र प्रहरीले हालसम्म चालकलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले आइतबार बिहानदेखि चक्काजाम गरेका हुन्। चक्काजामका कारण करिब २ घण्टादेखि पूर्वबाट पश्चिमतर्फ र पश्चिमबाट पूर्वतर्फ जाने सयौं सवारी साधन राजमार्गमै रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन्।
स्थिति नियन्त्रणमा लिन र सवारी आवागमन सुचारु गर्न प्रहरी र स्थानीयबीच छलफल भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख, प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्। प्रहरीले दुर्घटनामा संलग्न सवारी साधनको खोजी कार्य पनि तीव्र बनाइएको प्रमुख लाबुङले जानकारी दिइन्।



