Aamsanchar

काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकियो

Author Image
शुक्रवार, फागुन २९, २०८२

त्रिशूली-  स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकिएको छ । बन्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् ।

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने उनीहरूको अडान छ । सोहीअनुसार काठमाडौंबाट फोहोर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिए ।

उनले भने, “पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ । हाम्रा माग पूरा नहुन्जेल अवरोध जारी रहन्छ ।”

यसअघि, गएको कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका–१, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहोर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।

 

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर